Wednesday, June 8, 2022

ती दिन

उमेरले कोल्टे फेर्दै जाँदा 
जिन्दगिले पल्टा खाँदै गर्दा 
पटक पटक मानसपटलमा 
आउँछन उहिलेका ती दिन । 

बाँसका टटेलाको फिरफिरे 
चिलाउनेको पातको सिट्टि
छाताको तारले ठेलेर गुडाउने 
नाङ्गलोको बिटको पाङ्ग्रो । 

खेतको आली, गोरेटो र पाखोमा 
पांग्रोको पछिपछि मारेको वुर्कुसी 
पटक पटक छिनेको चप्पलको फित्ता 
त्यसलाई काम चलाउन बाघेको झुम्रो ।  

भुटेको मकैसंग मुलाको डुकु 
नुन छरेको हाडे काफल
लेकमा काँडा पञ्छाउँदै टिपेको 
भरिलो र रसिलो ऐंसेलुको गाँस । 

घाँसे पाखो ओरालोमा घुइंकिन
बाँसको कप्टेराको चिप्लेटी 
फलस्वरुप प्वालै प्वाल परेको कट्टु
र घाउ नै घाउ भएका हात गोडा । 

मोजामा झुम्रा कोचेको सानो भकुण्डो 
फुटेका माटाका भाडाको टुक्राको चाङ्ग
ढाल्ने र बनाउने खेलमा जमातै उफ्रिंदा 
बिग्रिएको बारीको पाटो र ठूलाको गाली ।

पाठशाला आउँदा जाँदाको लामो बाटो
बाटोभरि गुच्चा र सिक्काको खेल 
चकलेटका खोल र चुरोटका बट्टाको 
कित्ताको बाजी र उदेकलाग्दो हारजीत । 

खोपी, हक्र्याङ्ग, ओखर अनि के के 
नाना भाँतिका खेल र तिनका औजार 
अरू केही नभए गुच्चाको खेलमा 
हार्नेको गोलिगाँठो रन्काउने बाजी । 

सकी-नसकी रुख र ढुङ्गाको चढाई 
अचानक तिनबाट जमिनमा गुल्टाई
मर्केका, भाच्चिएका हात गोडा
च्यातिएको लुगा, सातो गएको मुटु । 

बाटोको दाँयाबाया लहलहाउँदो बाली 
दुधिलो गहु, कुटुलीकोसा, कलिलो मास
अमला, मयल, काफल, चुत्रो, मणिलो 
खाँदै, खुवाउँदै, चाख्दै, मिल्काउँदै । 

बुढा बाबुचाको सांघुरो एक झ्याले पसल 
सानो कोठामा स-साना पोका र बट्टाका सामान
दाँत सबै गएर खोपिल्टा परेको मुखले 
मुसुक्क हास्दै दिएको पाँच पैसाको पुष्टकारी ।

स्कूलका 'दादा' हरुको सान र आतंक 
तिनिहरुसंगको छुट्टै डर र संकोच 
आफ्नो टोपीको भकुण्डो बनाएको 
नीरिह भएर हेर्नुपर्ने सामर्थ्यहीनता ।

अंग्रेजीको पनि नेपालीमा पढाई
विज्ञानको सरको हासोलाग्ने बोली 
भ्यागुत्तालाई भयाकुत्ता भन्दाको रमाइलो
हरेकजसो शिक्षक‍लाई दिइएको उपनाम । 

केटाकेटीदेखिको भकभकाउने बानी
त्यसैले आफ्नो नाम भन्नुपर्दाको सकस
कैयौंपटक नाम भन्न नसक्दा वा रोकिनुपर्दा 
साथीहरुबाट 'सप्रेम' प्राप्त 'लाटो' को पदवी । 

प्वाल परेको घैंटोको पानीझैं घट्दो जीवन 
धमिलिंदै गरेका आंखा, मैलिदै गरेका दाँत
झोल्लिदै गरेका मांसपेशि, फुल्दै गएको केश 
तथापि कहिल्यै गलित नहुँने आशा, आकांक्षा । 

आफ्नो वरिपरि नाचिरहेका रोग, शोक र मृत्यु 
तिनको वीचमा पनि निशाको दीपझैं जिजीविषा 
वाँच्ने धुनमा वर्तमानको गञ्जागोल जञ्जालमा पनि 
मनमश्तिष्कमा झलझलाउँदा विगतका ती दिन । 

 --x--

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...