Wednesday, November 8, 2023

मश्तिष्क, चेतना र लेख्‍ने अभ्यास

 कम्प्युटर विज्ञानमा रहेका विविध आधारभूत अवधारणाहरु मध्ये जानकारी अन्तर्गमन (इनपुट), प्रशोधन र वहिर्गमन (आउटपुट) को विधि पनि पर्दछन् । सम्पूर्ण परम्परागत कम्प्युटर प्रणाली यही आधारभूत पद्धतिमा काम गर्दछ । मश्तिष्क पनि लगभग त्यस्तै पद्धतिमा काम गर्छ । विभिन्न इन्द्रियहरु मार्फत मश्तिष्कमा पुगेका जानकारी, सूचनाहरूको प्रशोधन निरन्तर जीवित मश्तिष्कले गरिरहेको हुन्छ । जागृत अवस्थामा मात्र होइन सुतेको अवस्थामा पनि सपना लगायतका प्रक्रियाहरुमा मश्तिष्क सक्रिय रहेको विज्ञहरु वताउँछन् । हिन्दु शास्त्रले पनि जागृत, स्वप्न र सुसुप्ति गरी तीन अवस्था बताइएको छ जस मध्ये जागृत अथवा नसुतेको अवस्था तथा स्वप्न अर्थात सुतेर सपना देखिरहेको अवस्थामा बिभिन्न गतिविधि हुने गर्दछन् भने सुसुप्ति अवस्थामा सपना समेत नहुने र गहिरो निद्रा अवस्था हुने भएकोले मश्तिश्कमा जानकारी प्रवाह कम हुने मानिएको छ । आधुनिक वैज्ञानिक र मनोवैज्ञानिक शोधहरुले  सुसुप्ति अवस्थाले मश्तिष्कलाई पुनर्जागरण र पुनर्ताजगी गराउनको लागि सूचना तन्तुहरुलाई पुनर्व्यवस्थित गर्ने अवसर प्रदान गर्ने देखाएका छन् ।

समग्रमा सचेतन प्राणीका रुपमा मानिसका हरेक गतिविधिमा मश्तिष्कको ठूलो भूमिका हुन्छ । हिड्ने, सवारी चलाउने, खाने, अनौपचारिक कुरा गर्ने जस्ता वाहिरबाट हेर्दा दिमागको उतिसारो काम नहुने गतिविधि पनि परोक्ष रुपमा मश्तिष्कद्वारा नै नियन्त्रित भएका हुन्छन् । स्वाभाविक रुपले कुनै गतिविधि वौद्धि हुन्छन् र दिमागको गहन काम हुन्छ भने कुनै भौतिक हुन्छन् र दिमागको नियामक भूमिका मात्र देखिन्छ । भनिन्छ जसरी शरिरका जोर्नी, मांशपेशी आदि जति प्रयोगमा ल्यायो त्यति गतिशिल र लचिला हुन्छन् । त्यसैगरी दिमाग पनि जति सक्रिय राख्न सक्यो त्यति स्फुर्त र चनाखो हुन्छ । 

पढ्ने, लेख्ने जस्ता कामहरू नितान्त वौद्धिक अभ्यास हुन् । तर शारिरिक अभ्यास जस्तै नियमित गर्दा सहज हुने र कहिलेकाहिं मात्र गर्दा असहज हुने तथ्य मानसिक अभ्यासमा पनि लागु हुन्छ । गरिरहेको काम पनि केहि दिन गर्न छोड्यो भने असहज र गाह्रो हुदै जादोरहेछ । यसका साथै शरिर जस्तै मश्तिष्क पनि उमेर बढ्दै जाँदा शिथिल र कम क्षमतावान हुने पनि स्वाभाविक छ । 

धेरै समय भएछ यो पृष्ठमा केहि नथपेको । यहाँ केही सामग्री थप्ने वहानामा नियमित हावादारी नै जस्तो लाग्ने भएपनि केही कुरा फुर्थे र तिनलाई शब्द अनि वाक्यविन्यास गरी लिपिवद्ध गर्ने अभ्यास हुन्थ्यो । थोरै भए पनि दिमाग चलायमान हुन्थ्यो । लेख्ने र सोच्ने हतियारमा सांध लाग्थ्यो । तर प्रयोग नगर्दा टांडमा बर्खाभरी फालेको हँसियाको धार वा सन्दुक भित्र धुलोमा फालेको बन्दुकको नाल जस्तो बोधो र काम नलाग्ने हुँदो रहेछ वुद्धि र मानसिक क्षमता पनि । 

राम्रा, नराम्रा, सस्ता, गहकिला अनेक सोच, विचारहरू दिमागमा आइरन्छ्न्, गइरहन्छ्न् । कहिलेकाहिं आफ्नै सोच र विचारले आफैंलाई अचम्मित पार्छन् । कहिले दिक्क पनि पार्छन् । अझ फुर्सदमा र एकान्तमा त राम्रा नराम्रा सोच विचारहरुको वाढी नै आउँछ । जान्ने बुझ्नेले ध्यान बाट त्यसमा नियन्त्रण र एकरुपता ल्याउन सकिने कुरा गर्छन् तर त्यसको विशेष अनुभव नभएकोले विचारहरुको बाढीला समयसमयमा बगाएर टाढै पुर्‍याउँछन् । यिनै विचारहरुको बाढीमा प्राय फोहोर मैला र ढुंगा माटो बग्ने भएपनि कहिलेकाहिं राम्रा कुरा पनि बगेर आउँछन् । यसरी राम्रा कुराहरुको तरङ्ग उठेका बेला केही लेख्न र वचाउन सके पछि हेर्दा पनि रमाईलो लाग्ने रहेछ । ठूला लेखकहरुले आफू संधै लेख्ने साधन लिएर हिड्ने गरेको र जतिवेला केही राम्रो फुर्छ त्यसलाई तत्काल टिपोट गरिहाल्ने गरेको कुरा वारम्बार बताएका छन् । यो पनि अत्यन्त सानो रुपमा त्यहि अभ्यास हो । 

दिमागी क्षमता (वा वृहत अर्थमा भनौं विद्या) जति खर्च गर्‍यो त्यति बढ्छ भन्ने पुरानो सुक्ति अनुसार पनि खर्च नगरेको र चलायमान नगरेको वौद्धिक क्षमता ह्रासोन्मुख हुुनु आश्चर्य होइन । सोहि अनुरुप यो हरफकारको हरफ बनाउने जांगर र सोचहरुलाई निर्वाध रुपमा वाक्य र परिच्छेदमा परिवर्तन गर्ने क्षमता तथा गति पनि जति बानी छुट्यो त्यति अधोगतितिर लागेको अनुभव भयो । त्यो अझ खाडलमै पुग्ला भन्ने डरले पनि आफूलाई अलि जोडजुलुमसित उत्प्रेरित गरेर यी हरफहरु बनेका हुन् । यी अनुभवका छिटाहरु हुन् । ज्ञानका पेटारा हरु होइनन् । न हरफकार ज्ञानी व्यक्ति हो न उंसंग अरूसंग नभएको कुनै विशेष जानकारी नै छ । यी वाक्यहरू त केवल आफ्नो सोचहरुलाई विस्मृतिमा जानु अघि भविष्यको संस्मरणार्थ चमत्कारिक प्रविधिको प्रयोग गरी सुरक्षित गर्ने जमर्कोका परिणति मात्र हुन् । 

तर निरन्तर कुरा चलिरहने दिमागबाट निस्केका यी उद्गारले कसैको मन छोयो भने त झन सुनमा सुगन्ध जस्तै भैगयो । 

(( धेरै समयपछि यहाँ केही थप्न परोक्ष रुपमा झकझक्याएकोमा मेधावी सहकर्मी अमृत नेपाललाई साधुवाद सहित ...)


बुधबार २२ कार्तिक २०८०


 


मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...