आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले यी पंक्ति लेख्न उक्साए । पारिवारिक वियोग र वेदना झेलेर बुढ्यौलिमा क्यान्सरको ग्रास बनेका रसिकले निराशा र दुःखका बीच 'मृत्युचिन्तन' का कुरा गर्थे रे । मेरो उनिसंगको सम्झना एक प्रशंसकको रुपमा रह्यो । ४० सालको दशकमा विद्यालयमा पढ्दा एउटा राष्ट्रिय गीतको रचनाकार गणेस रसिक भनेर कुनै साथिले भनेपछि उनको नामसंग पहिलो परिचय भयो । स्वाभाविक रुपमा उनलाई भेट्ने सुअवसर कहिल्यै जुरेन, आफ्नै प्रयास नभएर एवम्उ नको र आफ्नो उचाईमा रहेको आकाश जमिनको फरकले पनि । तर रेडियो नेपालमा गुञ्जिरहने उनका कालजयी लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत तथा 'रोधि' लगायतका कार्यक्रम मार्फत उनको कला र गलाको पारखी बनायो । आलय बनाइरहनेछ ।
भनिन्छ मान्छेले मृत्युलाई बिर्सन्छ । बेलाबखत परिवार, आफन्त वा अन्य चिनेजानेको कसैको मरण हुँदा मृत्युको घण्टी बज्छ तर दुनियादारीमा फर्किने वित्तिकै फेरि विर्सिन्छ । संधै मरिन्छ भन्ने मात्र सोचेर जीवन चल्ने पनि त होइन । आफ्नो नियत समय त गुजार्नै पर्यो, सकेसम्म खुशी र सुखका साथ र स्वभावले दियो भने सत्कर्मका साथ । तर पनि एकान्तमा वस्दा, गहिरिएर सोच्दा, आध्यात्मिक विचारहरु आउँदा, भविष्यका तर्कना हरु गर्दा, पुर्खाहरुका कुरा गर्दा मृत्युचिन्तन भैरहन्छ । सायद यो स्वाभाविक होला र सबैलाई हुने होला । २-३ दिन जति अघि मात्र घर छिमेकका एकजना दाजुलाई आफ्नै घरनजिको सडक पार गर्नलाग्दा एउटा अल्लारे मोटरसाइकल चालकले तिब्र गतिमा हिर्काइदियो। ती दाजु अहिले अस्पतालको सघन उपचार कक्षमा इन्तु न चिन्तु छन्, होस आएको छैन । छोराहरु हुर्किसके, एउटाको पोहोर बिहे पनि भयो । तर श्रीमतीको रोएर बेहाल छ । जीवनको उत्तरार्धमा झन जीवनसाथिको खांचो हुने । त्यसमाथि पनि अकल्पनीय रुपमा हट्ट कट्टा मान्छे दुर्घटनामा पर्दा यो अवस्था हुनु स्वाभाविक हो ।
यी दुबै घटनाले फेरी आफ्नो मरणशिलतालाई उजागर गरिदिएको छ । सामान्य रुपमा दैनिक जीवनका आरोह, अवरोह, तनाव, समस्या आदि ठूला लाग्छन् । मलाई मात्र हो कि जस्तो लाग्छ । पल्लो पाखो आफ्नो भन्दा हरियो लाग्छ । तर जब यस्ता घटना घट्छन् र मृत्यचिन्तन हुन्छ, यी सबै स-साना कुरा गौण लाग्छन् । आफू भाग्यशाली भए झैं लाग्छ । सायद यी घटना र तिनिहरुसंग जोडिएका भावनाले जीवनलाई नर्मलाइज गर्न र आफ्नो परिस्थितिसंग बांच्न सिकाउने रहेछन् कि ।
कलाकार गणेश रसिकको आत्मालाई चीर शान्ति प्राप्त होस् । उनका सिर्जना नेपाली आकाशमा गुञ्जिरहुन् र हामीजस्ता पारखीले रसिकका सिर्जनाको मीठो रस पान गर्न पाइरहुन् ।
सोमबार १९ जेष्ठ २०८२