पर सामुन्नेको क्षितिज प्रष्ट देखिइसकेछ
जीवनका कैयौं पानाहरू अनगिन्ती अक्षरले भरिएका
कथा, कविता, गीत अनि बहुलठ्ठीले लेखेजस्ता असरल्ल हरफहरु ।
उपसर्ग, विसर्ग, धर्का, विन्दू र अनेकन अल्पविराम वीच
आफ्नो कथाको नदेखिएको पूर्ण विराम तर्फ अग्रसर मेरो जीवन पुस्तक ।।
बल्दै सकिंदै गरेको मैनबत्ती जस्तै अविरल
आफू पछाडिको क्षितिज अोझेल परिसकेछ ।
रोकिन पाउनुछैन, चलिरहनुछ, ज्यान थाकिसकेछ
बाटो घुमाउरो छ, धुमिलो, प्रष्ट देख्न नसकिए जस्तो ।।
यदा कदा अनायास बाटो बटारिन्छ
कहाँबाट हो कुन्नी खाल्टा र ढुङ्गा तेर्सिन पुग्छन् ।
तर गति कायम छ, पैताला दुखाउँदै, सुसाउँदै
छामछाम छुमछुम, ढलमल, ढुलमुल ।।
हिजो हिंड्दा पारी भञ्ज्याङ्ग सम्म पुगुँला भनेथें
कोशेढुङ्गामा चढेर घाँटी भिजाउँला सोचेथें ।
भञ्ज्याङ्ग अझै निकै पर पो रहेछ, उकालो बाँकी नै
खै कता हराइएछ, अलमलिइएछ, पत्तै नपाई ।।
सपनाहरूको पछि लाग्दै, तर्कनाहरूको हात समाउँदै
माथि माथि उड्न र क्षितीज छिचोल्न खोज्दा खोज्दै ।
थाहा छै कुन बेला धागोेले साथ छोडेछ, चेट बनाउदै
ढलपल ढलपल हावा सँगे कावा खाँदै कता लागिएछ ।।
वटवृक्षको हाँगा जस्तै फैलिएका, फाटेका, बाँडिएका
चौतर्फि रूपमा मुन्टो उठाउँदै, निहुराउँदै, उठ्दै, लत्रिँदै ।
केही पूरा भएका, धेरै अधुरा, कचल्टिएका, जिम्लिएका
फक्रिने, फुल्ने, पूरा हुने आशामा अनगिन्ति मेरा सपनाहरू ।।
जीवनका कैयौं पानाहरू अनगिन्ती अक्षरले भरिएका
कथा, कविता, गीत अनि बहुलठ्ठीले लेखेजस्ता असरल्ल हरफहरु ।
उपसर्ग, विसर्ग, धर्का, विन्दू र अनेकन अल्पविराम वीच
आफ्नो कथाको नदेखिएको पूर्ण विराम तर्फ अग्रसर मेरो जीवन पुस्तक ।।
बल्दै सकिंदै गरेको मैनबत्ती जस्तै अविरल
आफ्नो शक्ति र रापले आफैं खरानी बन्दै गरेको जीवन ।
तन्किंदै क्षितीज हेर्दै, बाटो पहिल्याउँदै, आफ्नो डाली खोज्दै
सपनाका हाँगाबिँगा बीच उडिरहने म एउटा जीवन पंछी ।।
मंगलबार, १० पौष २०७५
No comments:
Post a Comment