कृष्ण धराबासीको मैले पढेको पहिलो किताव। एकजना सहकर्मी बहिनीले सिफारिस गरेर पढेको थिएँ । हुन त यो पुस्तकको चर्चा धेरै सुनेको भएपनि पढ्ने मौका मिलेको थिएन ।
पौराणिक पात्र राधाको परिचय कृष्णकी प्रेमिकाको रूपमा चीरकालदेखि स्थापित छ । बैबाहिक सम्बन्धको औपचारिकतामा नपरेको भएपनि ती दुईको प्रेम आत्मिक र दिव्य रहेको मानिन्छ । आधुनिक कालमा त राधालाई कृष्ण बराबरकै दैवी शक्तिको रूपमा पनि कतिले स्विकार गरेका छन् । कृष्ण प्रणामी लगायतका सम्प्रदायले मूल रूपमा नै राधाको उपासना गरेको पाइन्छ ।
तर कृष्णको जीवनगाथा र चरित्र बर्णन गर्ने श्रीमद्भागवत र महाभारतमा उनका अन्य रानीहरूको जति पनि राधाको बारेमा चित्रण गरिएको पाइदैन । त्यसको वावजुद पनि जब कृष्णको नाम आउँछ, राधाको पनि संगसंगै आउँछ । यस तथ्यले पनि राधाको चरित्र र व्यक्तित्वलाई थप रहस्यमय बनाइदिएको छ ।
यही पृष्ठभूमिमा नेपाली भाषाका प्रखर आख्यानकार कृष्ण धराबासीले राधा उपन्यासको रचना गर्नुभएको रहेछ । नाटकीय रुपमा पूर्वी नेपालको पुरातात्विक स्थलमा प्राप्त रहस्यमय भाषाको लेखोट र चिरञ्चजीवि अश्वत्थामालाई उक्त लेखोट पढ्ने रहस्यमय योगीको रूपमा जोडेर धराबासीले राधाको छुट्टै बिन्यास सहितको कथा वर्णित गरेका छन् ।
पौराणिक र साम्प्रदायिक रूपमा असिमित दैवी शक्तियुक्त र संसारका भारहर्ता मानिएका कृष्णलाई विशेष परिस्थितिले घेरिएका सामान्य मानवको रूपमा चित्रित गर्दै लेखकले राधालाई उनकी बालसखी र प्रेमिकाको रूपमा पेस गरेका छन् । बालसखी र मानिएकी प्रेमिका भएपनि कृष्णले राधालाई सांसारिक रूपमा आफ्नी अर्धांगिनी बनाउदैनन् । तैपनि उनि राधा प्रति आफ्नो प्रेम सर्वोच्च रहेको पटक पटक दोहोर्याउँछन् । उनको यो भनाई र एकपछि अर्को गरी धेरै पत्नी भित्र्याउने व्यवहारमा मेल खाँदैन । यसले राधाको मनमा कृष्ण प्रति उपेक्षाभाव र आक्रोश पनि उत्पन्न गर्छ । तथापि उनको प्रेम आत्मिक रहेकोले उनी कृष्णबाहेक अन्य कसैलाई अपनाउन पनि सक्दिनन् ।
एउटी इमान्दार प्रेमिका र उनको छली स्वभावको प्रेमीको लामो जीवनयात्राका आरोह अवरोहहरू चित्रित गरिएको यस उपन्यासले राधालाई एक छुट्टै जीवन्तता दिएको छ । एक पुरुष भएपनि लेखकले नारी मनोभावलाई प्रतिनिधित्व गर्न निकै प्रयास गरेका छन् ।
पुराणहरूबाट पाईने कथावस्तु र उपन्यासको कथावस्तुमा धेरै पृथकता भएपनि पढुञ्जेल यस उपन्यासले पाठकलाई त्यो कालखण्ड र त्यसबेलाको जनजीवनको नजीक लैजान सफल हुन्छ । शायद यही मौलिकता बोकेको र सहज भाषा प्रवाहमा लेखिएकोले यस कृतिले देशको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार प्राप्त गर्न सफल भएको हुनुपर्छ ।
अन्त्यमा, आफूलाई स्वाभीमानी, आत्मनिर्भर र गौरवशाली जीवन दिन खोज्ने युवतीहरूले एकपटक पढ्नुपर्छ जस्तो लाग्छ । साथै पुरुषहरूले पनि यस उपन्यासबाट नारीलाई सम्मान गर्नुपर्ने सन्देश पाउँछन् भन्ने मेरो विश्वास छ ।
शुक्रबार ११ आषाढ २०७८ (२५ जून २०२१)
No comments:
Post a Comment