आज १ घण्टा चाँडो कार्यालय पुगेको कारण केहि अतिरिक्त समय थियो । हवाइजहाज र उडान प्रविधिमा अलि बढी नै चासो भएकोले केहि एउटा नया जहाज उडाएको ककपिटको (पाइलट बस्ने ठाउँ) भिडियो हेर्दै थिएँ । त्यतिकैमा मजस्तै चाडो आउने एक सहकर्मीसंग कुरा हुन थाल्यो ।
आजभोलि कार्यालयमा फेरि अन्यौल छ । उच्चतम पदमा विद्यमान व्यक्तिको कुर्सि धरापमा छ । स्वाभाविक हो कुर्सि धरापमा भएपछि त्यसमा बस्न चाहने विभिन्हन अभिलाशिरुका नामहरू हरेक सरोकारवालाको मानसपटलमा सलबलाउछन् ।
पद, सुविधा, कमाइ आदि अस्थायी कुरा हुन्, बगी जाने खोला जस्तै । तर प्रतिष्ठा, छवि, स्वभाव, नेतृत्वको क्षमता, सँस्थाको स्थायित्वप्रति पदमा बसेकाको देन आदि स्थायी हुन् । हरेक पदासिन व्यक्तिको ध्यान अस्थायी भन्दा स्थायी कमाइ गर्ने तिर लाग्नुपर्ने हो । एक अन्तरवार्तामा स्वामी आनन्द अरुण (नेपालमा ओशो तपोबनका संस्थापक गुरु) ले "हालका पदासिन हरू अस्थायी सम्पत्ति कमाउने धुनमा स्थायी सम्पत्ति गुमाउदैछन्" भन्ने आशय व्यक्त गरेका थिए । लाग्छ उनको भनाइले अधिकांश पदासिन वा पदासिन हुन लालायितहरुको मानसिकतालाई प्रतिनिधित्व गर्छ ।
२ वर्ष, ३ वर्ष वा ५ वर्ष नै किन नहोस, यदि चालिसौं वर्षको जीवन पलक भरमा जान्छ भने पदावधि पनि आउँछ, जान्छ । तर पदमा रहुन्जेल पदासिनले जे गर्छ त्यसले उसको पछिको मान सम्मान, छवि र अन्तत: आत्मिक शान्तिमा पनि गहिरो असर गर्छ । पदको दुरुपयोग गरेर समाजलाई झुक्याउन सफल हुनेले पनि आफूलाई त झुक्याउन मुश्किलै पर्ला ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा जस्ता युग मानवले त मरणासन्न हुँदा "जन्मे म यो स्वर्ग विसे पलाएँ, आखिर भै खाक यसै बिलाएँ" भन्दे इहलिला समाप्त गरे भने साधारण सांसारिक व्यक्तिले त्यो अवस्थामा के सोच्ने होला? समय छंदै कमसेकम आफू प्रति सचेत, सच्चा र ईमान्दार भएर कर्म गर्न सके त्यो पल सहज हुँदो हो कि? मनन गर्नुपर्ने कुरा छ ।

No comments:
Post a Comment