Friday, August 17, 2018

सृष्टिको मियो म,
व्रम्हाण्डको केन्द्र ।
म छु र त सबै छ,
चर, अचर, सजीव, निर्जीव ।१।

म अनन्त, अटल, अमर,
कति आए, गए, बिलाए ।
कति आउलान्, हराउलान्,
तर म यही छु, निरन्तर ।२।

हिसाब किताब, प्रष्ट छ मेरो,
जोड, घटाउ, अङ्क, सुत्र ।
बढेको, राम्रो, बनेको मद्वारा,
घटेको, नराम्रो, विग्रेको उद्वारा ।३।

मेवा, मिष्टान्न, रसिलो, पोसिलो,
आदर, सत्कार, सम्मान मेरा  ।
तीक्त, रिक्त, फोस्रो, खोक्रो,
गाली, तिरस्कार, अपमान अरुका  ।४।

सुनौलो घाम, हरियो बन,
खुशी मन, स्वस्थ तन ।
शीतल पवन, शानदार भवन,
शान्त उपवन, मेरो नीजि धन ।५।

उखरमाउलो घाम, ढुङ्गाको थुप्रो,
दुखी मन, सासको टेवा ।
हुरी वतास, चुहिने छाप्रो,
उजाड करेसा, अरुकै पेवा ।६।


कोदालि पाते तँ, राम्रो म,
तोतेदेखि सिकेको, सबै संग ।
अक्षरको गाथा, आत्माको नाता,
'म' नै रहेछ मनपर्ने रंग ।७।

पहिला म, अनि पो तँ,
पालै पालो, क्रमै संग ।
कुरेर बस्नु, अनन्त सम्म,
म हुनुपर्छ हुनलाई दंग ।८।

म बाट महान, म नेै मनपर्ने,
मलाइ मान, मसंगै मिल ।
म को महिमा मसंगै माग,
मबिना जगत छैन केहि मान ।९।
--

१ भाद्र २०७५ 

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...