Friday, September 14, 2018

धोको

सबै जस्तै म, मेरो मन पनि सबैको जस्तै ।
सीमा फरक, शैली फरक, चाहना उस्तै ।।

भीडै भीडको बीचमा पनि तृष्णा साथी  ।
दबिएको एक्लो ज्यान अभिलाषा सबै माथी ।।

पल बराबरको परिधीभित्र युग समान आशा ।
चार हरफमा जीवनको तीक्ष्ण परिभाषा  ।।

घाम पानी, फूल काँढा, निशा प्रभात ।
झेल्दा झेल्दै कहिले पर्छ चोलामा रात ।।

अब त होला भन्दै छाया पछि पछिको दौड ।
अनबरत मरुमा भौंतारिएको मनको निचोड ।।

प्रतिपल बदलिंदो छ आफ्नै छबि, को देख्छ? ।
आजको 'म' ले हिजोको मैलाई 'को?' भनी लेख्छ ।।

आफ्नो अघि पछि कति आए, गए, उदाए होलान् ।
तैपनि शंका लाग्छ समयका छालले छोलान्? ।।

प्रेमको गीत गाउदा गाउदै झ्याउकिरी हठात् ।
चरीको मुखमा क्वाप्प पर्छ चट् हुन्छ अकस्मात् ।।

एक पछि अर्को कडी जोड्दै जीवनको मालामा ।
निमेषभरमा परिजान्छ जीव समयको ज्वालामा ।।

ज्वारभाटाहरूका वीचमा डगमगाउंदै बढ्ने नाऊ ।
विराम पर्यन्त चल्नुमै रहेको जीवनको अमूल्य भाऊ ।।

जे हुनु छ, जति पाउनु छ, जहाँ पुग्नुछ बोकी जीवनको पोको ।
पछि फर्कि हेर्दा ग्लानी र हीनता नहोस् यही एक धोको ।।


शुक्रबार २९ भाद्र २०७५

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...