Saturday, March 23, 2019

म र तिमी


म र तिमी

तिमि को?
तिमी सोध्दछौ ।

म को?
हेर्दा तिमी जस्तै भएपनि,
तिमीले जस्तै लाए खाए पनि,
१० देखि ५ तिमी संगै बिताए पनि,
म तिमी होइन, तिमी म होइन
म तिमी जस्तो होइन, म जस्तो कोही छैन ।

एउटै कागजमा संगै लेखिएका तिम्रा र मेरा कुरा
तिम्रा कुरा छेउ न टुप्पाका, नराम्रा, नमीठा, बेढङ्गका
मेरा प्रासंगिक, उचित, गहकिला, अकाट्य
भूत, वर्तमान, भविष्य सवै समेटने 
वेद वाक्य जस्ता मेरा कुरा  
सुकेको थोत्रो टपरीमा असिना पर्दाको आवाज जस्ता 
निरस निरर्थक तिम्रा कुरा

तिम्रो र मेरो एउटै नाउ
पानी शान्त थियो, सयर गर्‍यौं हामीले संगै
नाउ खियाउँनै बिर्सिएर घाम ताप्यौं मजाले, गफ धेरै भए
लाग्थ्यो हामीले घाम तापेको र 
गहन गफ गरेकै कारणले नाउ चलेको छ
पानी न हो, अचानक अशान्त भयो, नाउ न हो, डगमगायो
तिमीले किन घाम ताप्यौ, नाउतिर ध्यान नदिई?
तिम्रो घाम तपाईको कारणले डुबियो
घातक तिम्रो नौका चलाई, प्रत्युत्पादक तिम्रो घाम तपाई
कहाँ तिमी कहाँ म, काम तिम्रो घाम मेरो

तिम्रा र मेरा उही एउटै थकाली
दर्शन दिनहुँ तिमी पनि गर्छौ, म पनि
तिम्रो दर्शन बनावटी, मेरो अकबरी सुन जस्तै
भन्छन् हामीलाई मिलेर काम गर
म भन्छु काम तिमी गर, मिलुँला म
काम बन्छ, म जाउँला जाहेरी गर्न, स्याबासी बाँडौंला
बिग्रियो त तिम्रा कारणले, गर्ने त तिमी हौ
म त मिलेको मात्र पो, थकालीलाई भनौला
ढुक्क बस, यसैगरी युगान्तर सम्म मिलौंला
मसँग तिमी, तिमीसँग म  


तिम्रो र मेरो बही खाता साझा
नाफा, नोक्सान, आम्दानी, खर्च, सम्पत्ति, दायित्व
तर कुरा बुझी राख, यो खाताको नियम छ विशेष
क्रेडिट सबै म लिउँला, डेबिट तिमी राख
सजिलो हिसाब, स्पष्ट कारोबार

तिम्रा पनि कुरा, कुरा मेरा पनि
मेरा सारभुत र गहन, तिम्रा तातो हावा भरेको बेलुन जस्ता
मेरा कुरा फेरिए, युगको माग, 
सिनेमामा कथाले मागेको ग्ल्यामर जस्तो
फरक परे तिम्रा, तिमी पिपल पाते, 
तिम्रो बोली नबुझिने भाषाको प्रवचन जस्तो
तिमी कम बोल, तिमीले काम गरेकै सुहाउँछ
बोल्ने काम मेरो, नत्र कामको आइडिया कहाँबाट आउँछ ?

हेर्दा हामी उस्तै भएपनि, छालमा एउटै डुँङ्गामा यात्रा गरे पनि
विस्तारै अर्वेलको सूँगुरको खोरमा जस्तै
तिमी काम गर्ने र म जस पाउने बीच विस्तारै विस्तारै फरक आउला
तिमी र म बराबर भएपनि म तिमी भन्दा बढी बराबर हुँदै जाउँला
हुन सक्छ कुनै दिन हामी दुईको खोर नै फरक होला
पक्कै तिम्रो भन्दा मेरो सुकिलो हुनै पर्छ
किनकी तिमीलाई यही खोर प्यारो छ, 
मेहनती छौ, खाली बस्दा ज्वरो आउँछ 
म यहि बसे आइडियाको मुहान सुक्ला, अनि केमा नङ्ग्रा खियाउँछौ?
म नया खोरमा जानु अपरिहार्य छैन र?
तिमीले बोक्ने नया भारी र जोत्ने थप बाँझो खोज्न पनि !
कहाँको नाच्ने, कहाँको नचाउने ! 
कहाँ तिमी, कता म !

फाटेको टोपीले पसिना पुछ्ने मोही किसान जस्तो
तिमि पसिना बगाउदै जाऊ, जोत्दै जाऊ, खाली दिमाग लिएर
म चतुर तल्सिङ् जस्तै बाली उठाइरहुँला
खेत बांझो भए, तिमी अल्छी, मेरो भाग डुबाउने पनि तिमी
बालि लहलह, साइतमा म भाग दाबी गर्न आउँला, तयारी गर तिमी
तिम्रो निधारमा पसिना र हातमा ज्यावल नै सुहाउँछ
चस्मा, टोपी, घडी, औठी त मेरा लागि हुन्
निधार, निधार; हात, हात
कहाँ तिम्रा, कहाँ मेरा !

मेरो शैलीको डेबिट क्रेडिट, हिसाब हुनुपर्छ मेरै जस्तो
खातै बन्द भएपनि तिमीतिर औंला देखाई भनुँला
म त मिलेकै थिएँ नि, उसले नगरेर पो त
मैले त भनेकै थिएँ नि, उसले नसुनेर पो त 

बुझ्यौ नि कुरा?
कहाँ तिमी, कहाँ म !


No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...