मानिस स्वार्थी प्राणी हो ।
यो भनाई अक्सर सुनिन्छ । यो एउटा भनाई मात्र नभएर जीवन दर्शनको एउटा तीक्ष्ण यथार्थ पनि हो । स्व र अर्थ मिलेर बनेको यस शब्दले आफ्नो फाइदा भन्ने जनाउँछ । झट्ट हेर्दा आफ्नो भौतिक फाइदा जस्तो देखिए पनि वृहत् रूपमा हेर्ने हो भने स्वार्थ भन्नाले कुनैपनि व्यक्तिले आत्मकेन्द्रित भएर चाहेको कुनैपनि उपलब्धीलाई मान्न सकिन्छ ।
अरू कसैको मतलव नराखी, नृशंस र निर्विवेकी रूपमा आफ्नो मात्र सुविधा हेर्नेलाई कोरा एवम् स्वाभाविक रूपमा स्वार्थी भन्ने गरिन्छ । हुन पनि यो स्वार्थीपनाको उच्चतम रूप नै हो । अरुलाई हानी नोक्सानी पुर्याएर भएपनि आफ्नो हितसाधन गर्नु स्वार्थी स्वभावको पर्याय नै हो भन्न सकिन्छ ।
सहज रूपमा स्वार्थको यस्तो छोटो परिभाषा र द्योतक भएपनि अलि गहिरिएर सोच्ने हो भने स्वार्थ धेरै व्यापक मानवीय स्वभावको रूपमा रहेको पाउन सकिन्छ । संधै नि:स्वार्थ भावले काम गर्छु भनेर हिड्ने व्यक्तिको पनि यदि सो स्थिति कायम गर्न सफल भएको भए त्यसलाई निरन्तरता दिन धेरै मेहनत गर्नुपर्ने हुन्छ । आफूले आफ्नो लागि तय गरिएको मापदण्डमा आफूलाई कायम राख्नको लागि व्यक्तिले धेरै ठाउँ वा समयमा विविध निर्णय गर्नुपर्ने हुन्छ जुन स्वाभाविक गतिविधि भन्दा पृथक पनि हुन सक्छ । यस अर्थमा आफ्नो मापदण्ड वा मान्यतामा अडिग हुन लागिपर्ने व्यक्तिलाई पनि स्वार्थी भन्नु पर्ने हुन्छ होला ।
त्यसैगरि जीवनभर धर्म कर्म वा सेवाको काम गर्छु भन्नेको वा निर्वाणको लागि काम गर्छु भन्नेले पनि आफ्नो अभिलाषा पूरा गर्न प्रयास गर्नै पर्छ । परिभाषागत रूपमा आफ्नो निर्धारित लक्षको लागि काम गर्दा लक्ष राम्रै भएपनि मानिसले आत्मकेन्द्रित हुनै पर्ने हुन्छ जुन स्वार्थको पर्याय जस्तै हो । तर यस्तो किसिमको स्वार्थलाई वास्तविक स्वार्थको रूपमा हेरिंदैन किनकी यस्तो स्वार्थमा परपिडा नीहित हुंदैन । यदि यसरी परिभाषालाई सङ्कुचित नगर्ने हो भने त सारा संसारै स्वार्थी भएको ठहर गर्न सकिन्छ । लाग्छ यसैलाई कवी, गीतकार र कलाकारले 'स्वार्थी संसार' भन्ने गरेको ।
विहिबार १४ चैत्र २०७५
No comments:
Post a Comment