आज बिहानै घरायसी कामको समयमा पनि केहि सुन्ने बानी अनुरुप युट्युबमा उपनिषद गङ्गा अन्तरगत अष्टावक्रको कथा हेर्दै थिएं । राजा जनकको दरबारका नामी पण्डित आचार्य बन्दी संग जो कोही ज्ञानीहरू डराउँथे । उनि नामी पण्डित त छँदै थिए, शास्त्रार्थमा पनि निपूण थिए । त्यसमाथि पनि उनलाई आफ्नो क्षमतामा यति विश्वास र घमण्ड थियो कि उनिसंग शास्त्रार्थ गरी पराजित हुनेले जलसमाधि लिनुपर्ने शर्त पनि थियो । यसै शर्तमा पराजित भै धेरै पण्डितहरूले आचार्य बन्दीको शर्त अनुसार जनसमाधि लिएर ज्यान गुमाइ सकेका थिए ।
बाल ब्रह्मचारी अष्टावक्र पनि आचार्य बन्दी संग शास्त्रार्थ गर्ने उद्देश्यले जनकको दरबारमा आएका थिए । संयोगले अष्टावक्रका पिता पनि बन्दी संगे पराजित भएर परलोक गएका थिए र यसरी आफ्ना पिताको मृत्युको कारण बनेका घमण्डी बन्दीलाई पाठ सिकाउनु पनि अष्टावक्रको लक्ष्य थियो ।
शुरुमा त स्वाभाविक मानवीय घमण्ड, राजाको कर्मचारी हुं भन्ने दम्भ तथा बालगुरु अष्टावक्रको आठ ठाउँमा बङ्गिएको कुरूप शरीर को कारणले द्वारपालले नै उनलाई दरबार प्रवेश गर्न दिएको थिएन । पछि अष्टावक्रको तर्क तथा सो सुनेका राजा जनकको हस्तक्षेपले उनि दरबार प्रवेश गरे । प्रवेश गर्नासाथ उनले आचार्य बन्दीसंँग शास्त्रार्थ गर्न चाहेको बताए ।
हेर्दा कृषकाय, बक्र शरीर र बालपन को काँचो उमेरका अष्टावक्रलाई कसैले विश्वास गरेनन् र पूरा सभा नै उनको खिल्ली उडाएर हाँस्यो । तर बालगुरू अष्टावक्रको शरीर मात्र बाङ्गिएको थियो । ज्ञान त उनको बेजोड नै थियो र त्यसमाथि आत्मविश्वास र उत्साह पनि । राजा जनकले सबैको तर्फबाट माफी माग्नुका साथै बन्दीले पनि अष्टावक्रको शास्त्रार्थ गर्ने इच्छा पूरा गर्नु पर्यो ।
शास्त्रार्थ शुरु भयो । बेजोडको प्रश्न, प्रतिप्रश्न, तर्क, विवेचना सहित धेरै समय चलेको बहश पश्चात अन्तत: नामी मानिएका आचार्य बन्दीले कुरूप, अपाङ्ग बाल ब्रह्मचारी अष्टावक्रसंग हार मान्नु पर्यो । शर्त उनको आफ्नै थियो । आचार्य बन्दी अष्टावक्रलाई बिजयी मान्दै जलसमाधी लिन तयार भए ।
तर अष्टाबक्र हिंसामा उत्सुक थिएनन् । उनलाई कसैको ज्यान लिनु थिएन । उनले बन्दीलाई जलसमाधी लिनु नपर्ने बताए । घमण्ड चूर भएका बन्दीको ज्यान त बच्यो तर उनले हरेक पल आफ्नो कारणले ज्यान गुमाएका विद्वानहरूको स्मरण गर्दै र आफ्नो ज्यानमारा घमण्डको आगोमा जीवनभर पिल्सिंदै बाच्नुपर्ने भयो । उनकै शब्दमा यो उनको लागि जलसमाधी भन्दा पनि ठूलो सजाय भयो ।
पटक पटक आफ्नो शास्त्रको ज्ञानलाई अरुको ज्यान लिने शस्त्रको रूपमा प्रयोग गरेका बन्दीले शास्त्रलाई जनकल्याणमा प्रयोग गर्नुपर्ने शिक्षा पाए । जान्नेले आफ्नो ज्ञानको उपयोग द्वारा अरुलाई दु:ख दिने हो भने त्यस्तो ज्ञान त अज्ञान भन्दा पनि निकृष्ट हुन्छ ।
ज्ञानको माध्यमबाट जगतको कल्याण भएन र हानी मात्र भयो भने त त्यस्तो ज्ञानभन्दा जडता र अज्ञान नै बेस हुन्छ । आफ्नो वा अरुको जोसुकैको पनि अहित गर्ने ज्ञान त गलत प्रभाव गर्ने औषधी भन्दा पनि हानिकारक हुन्छ । ज्ञान र विद्याको परिणाम कल्याणमुखी नभए निरर्थक हुन्छ । त्यसैगरी ज्ञान र विवेक भनेको कसैको पेवा होइन र ज्ञानी हुनलाई सुन्दर, वलिष्ठ र शक्तिशाली पनि हुनु पर्दैन । आधुनिक दृष्टान्तको रूपमा गत साल दिवंगत भइका बेलायती बैज्ञानिक स्टिफन हकिङ्गलाइ पनि लिन सकिन्छ । उनि पनि आधुनिक अष्टावक्र भन्दा कम होइनन् । ज्ञानी हुनको लागि शारिरिक वलिष्ठता तथा राजनैतिक सामर्थ्य आवश्यक छैन । ज्ञानको दियो जस्तोसुकै अध्यारो कुनामा र प्रतिकुल परिस्थितिमा पनि बल्न सक्छ । साथै यस्तो दिव्य वस्तुलाई शस्त्र, परपीडन र हानीको साधनको रूपमा प्रयोग गर्नु पनि ज्ञानको उपहास गर्नु हो । अष्टावक्रले दिन खोजेको शिक्षा पनि यही थियो ।
मङ्गलबार ३ बैशाख २०७६ (१६ अप्रिल २०१९)
No comments:
Post a Comment