Friday, July 5, 2019

सेल्फि

उहिले उहिले आफ्नो तस्विर हेर्न कि त स्टुडियोमा गएर फोटो खिचाएर त्यसको धुलाइ हुन २-३ दिन कुर्नुपर्थ्यो कि ऐना अगाडि ठिङ्ग उभिएर वा थ्याच्च बसेर टुलुटुलु हेर्नु पर्थ्यो । कहिले काहिं त आफ्नै थुतुनो पनि कता कता पराइ जस्तो, समय भन्दा पहिल्यै रंग उडे जस्तो, उमेरै नपुगी बुढो भएजस्तो हुन्थ्यो । तस्विरै खिचेर धुलाउन त ठूलै महोत्सव आउनु पर्थ्यो वा गतिलै कागज बनाउने आवश्यकता हुनुपर्थ्यो ।

हेर्दा हेर्दै जमाना पनि कस्तो आयो । पहिरो जांदा होस् वा आगो लाग्दा होस्, झैझगडा भएका ठाउँमा होस् वा महोत्सवमा होस, यात्रामा जाँदा होस वा जात्रामा रमाउँदा होस्, नातेदारसंग जोडिंदा होस् या तीन न तेर्‍हका अपरिचितसंग जम्काभेट हुँदा होस, हरियालीमा होस् या उराठ मरुभूमिमा होस्, हिमालको रगत जम्ने जाडोमा होस या तराईको बोसो पगाल्ने गर्मीमा होस् सबैलाई सेल्फिकै चटारो छ ।

बाटोको धुलोमा लोटपोट हुँदै निरीह आँखा र पसारिएको हातले दुइ चार पैसाको लागि हात पसार्ने मगन्तेसँग होस वा सेलेब्रिटि सँग होस, भेट भएपछि हाइ, हेलो वा के छ, कसो छ भन्दा बढी टाउको जोरेर र चोसो पसारेर सेल्फि लिने नै हतारो हुन्छ । मन्दिर भित्र दर्शन होइन भगबान सँग सेल्फि । बगैंचामा फूलको आनन्द भन्दा पोज दिइ दिइ सेल्फि । अस्पतालमा नाकको टुप्पो देखि गोडाको बुढीऔंलोको टोप्रो सम्म सेतो पट्टीले बेरेर इन्तु न चिन्तु भएको बिरामी संँग पनि सेल्फि । विवाहमा दुलहा दुलहीसँग सेल्फि । घाटमा मरणासन्नसँग सेल्फि र मृत शरीरसँग सेल्फि ।

सेल्फि सँस्कृति एक आगो हो भने सामाजिक सञ्जाल त्यसलाई अझ भड्काउने तेल हो । सञ्जाल भरि तस्विरै तस्विर । लाग्छ सामाजिक सञ्जाल नभएर व्यक्तिगत तस्वीरजाल हो । यसले सेल्फि लिनेहरूलाई थप नखरा गर्न प्रोत्साहित गरेको छ । हरेक व्यक्ति सेल्फि लिंदा त्यस्तो साथी खोज्छ जो सेलिब्रिटी होस् जोसँग सेल्फि खिचाएर प्रकाशित गर्दा गजबको गौरव र रवाफ महसुस होस । यदि यस्तो छैन भने सेल्फि पार्टनर आफू भन्दा कम जान्ने, कम सुन्दर वा कम सफल होस र उसले आफूसँग सेल्फि लिंदा गौरव र रवाफ महसुस गरोस् । यी दुई बाहेक आफू सरहको व्यक्तिसँग सेल्फि लिन जोकोहिले इच्छा गर्दैनन् । यदा कदा साथि संगी सँग खिचाउनु त बेग्लै कुरा होला ।

कुनै जमाना थियो जव धेरै शुरा र साहसी मान्छेहरू मात्र भीर, पहरो, छाल, छहरो, झाडी, लहरो नगीच जाने आँट गर्थे । जोकोहिले त्यस्ता खतरापूर्ण वा गार्‍हो स्थानमा आफ्नो अनमोल ज्यानलाई जोखिममा पार्ने दुस्साहस गर्दैनथे । तर सेल्फिको जमानामा त्यसको पनि कायापलट भए जस्तो छ । सेल्फिको कहिल्यै नमेटिने पिपासाले उत्सुकहरूलाई भीरमा लगेन कि, पहरामा तानेन कि, छालको छेउमा पुर्‍याएन कि वा विनासको दृष्यको साक्षी बनाएन । पहराको टुप्पोमा पोज, छहराको फेदमा पोज, रुखको हाँगामा पोज, नदीको छाँगामा पोज, उफ्रिएर पोज, झुन्डिएर पोज, लडेर पोज, सुतेर पोज, उठेर पोज, खाएर पोज, पिएर पोज । यही पोजको खोजमा कैयौंले इहलिला समाप्त गरे । लाग्छ स्वर्गमा पनि राम्रो ठाउँ खोजेर सेल्फि लिने धुनले सतायो होला ।

फाटेको कपडा लगाएको बेला, भान्सामा डेक्चि धस्काएको बेला, बालबच्चाको सुसु र आचि सफा गरेको बेला, हिलोमैलो भइ काम गरेको बेला, दाह्रि चुस्स र कपाल जिङ्ग्रिङ्ग भएको बेला, मेकअप नगरेको बेला कसले सेल्फि खिचेार पोष्ट गर्छ ? चाउरी र चाया भएपनि नानाथरि दलदाल गरेर भरिलो बनाएर, फुलेको कपाल रंगाएर, खुइलिएको तालुलाई कानतिरको कपाल तानी तानी छोपेर, टिमिक्क लुगा र चिटिक्क अनुहार नबनाई लिएको सेल्फि त सेल्फिमा गनिन्न र कतै गल्तिबश पोष्ट भैहाले पनि तुरुन्त डिलिट गरिहाल्नु पर्छ ।

टिमिक्क लुगा र चिटिक्क अनुहार अनि बनावटी हाँसो मात्र नभएर अहिले त नाक चेप्र्याएर, आखा तानेर, चोसो पसारेर, छड्के हेरेर, ठुस्स परे झैं गरेर, केही सोचेजस्तो गरेर, माथि हेरेर, तल हेरेर पनि सेल्फि लिने क्रम बढ्दो छ । आफ्नो प्राकृतिक रूपमा सेल्फि लिने भेट्नु भनेको इमान्दार कर्मचारी भेट्नु र झुटो नबोल्ने राजनेता भेट्नु जस्तै दुर्लभ भइसके जस्तो छ । जे होस, सामाजिक सञ्जालको यो छद्म दुनियाँमा आफ्नो छद्म र अप्राकृतिक रूपकै प्रचार-प्रदर्शन गर्नु पर्ने रहेछ क्यारे । सेल्फि त्यसैको जल्दो बल्दो रूप जस्तो छ । यो लेखको अन्त्यमा एउटा सेल्फि पनि टाँस्न पाए !

आइतबार २२ आषाढ २०७६ 

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...