Friday, July 12, 2019

चटारो

आजभोलीको युग नै चटारो र हतारोको युग प्रतित हुन्छ । चितुवाले लखेटेको मृग दगुरे जस्तो दगुर्नु नै सबैको दिनचर्या बनेको छ । काममा जाने चटारो । काम चोरेर भाग्ने चटारो । भागेको थाहा पाउलान् जस्तो गरी आफ्नो काम धाम सकेर पुन: कार्यालतिर फर्किने चटारो । हाजिर गर्ने चटारो । हाजिर गरेर भाग्ने चटारो । बेलुकि जागिर टुङ्ग्याउन फेरि हाजिर गर्न जाने र गरेर कुलेलम ठोक्ने चटारो । विद्यार्थीलाई बिद्यालय जाने चटारो । बजार गएकालाई झोलि तुम्बा बोकेर चिटचिट पसिका काढ्दै र झोलाको डोरिले हातमा खाल्टा पार्दै घर पुग्ने चटारो  । 

आफूलाई र जति चटारो भएपनि संधै ढीलाको ढीला । विहान समयमा पुग्ने सधै चटारो भए पनि बेलुका संधै आधा रात। घरकी लक्ष्मीले पनि उज्यालोमा मुख देख्न नपाएको जुग भैसकेछ । झन जुनियरहरू त कुनै दिन उज्यालैमा घर पुगियो भने छक्क पर्छन् । एक पटक त वेलुकी छ बजे घर पुग्दा 'कति बेर घर बस्ने? फेरि जानु पर्ला होइन?' भन्ने प्रश्नले के भनौं के भनौं बनायो । 

यति धेरै चटारो भएपनि र आजको कालखण्डलाई नै चटारोको युग भनिए पनि साँच्चै यो चटारोले सार्थकता पाएको छ त? यो प्रश्न पक्कै पनि युधिष्ठिरलाई यक्षले सोधेको भन्दा कम गहन नहोला । बोलेर पिठो बिकाउनुपर्ने आजको जमानामा देखाउनकै लागि पनि चटारोको जरुरत पर्छ । एक्लै हुंदा सम्म अनेक कुरामा मन र तन डुलाए पनि अरूका अगाडि सार्‍है व्यस्त हुनै पर्छ । दिनभरि क्यान्टिन, छत र वार्दलिमा बसेर भागवत देखि भुँडिपुराण र गिता देखि ग्यालिलियो सम्मको गफ  हाँके पनि हाकिम र प्रतिद्वन्दीका अगाडि कागज, कलम र फाइल पल्टाएर अनपढ अभिभावकलाई अल्छि विद्यार्थिले झुक्याए जस्तो नझुक्याए फोस्रो नाक कसरी ठड्याइरहनु  । फेरि दिन रात टुपि कसेर र घुँडा धसेर काम गर्नेको भन्दा चलचित्रको नायक जस्तो ठीक समयमा प्रवेश गरी आफ्नो रवाफ देखाउन सक्नेको हालीमुहालि देख्दा ती टुपि कस्ने र घुँडा धस्नेले पनि खरानी घस्ने नै भैहाले । 

प्रशासक देखि पियन सम्म र हाकिम देखि हल्कारा सम्म सबैको यहि गति न हो । ताक परे काम चोरी चोरी हिड्नेहरू ताक नपरे  'निहुरिमुन्टी न' भएर घोत्लिएकै हुन्छन् । यो कुरा घोत्लिने र घोत्लिएको देख्ने सबैले बुझेका भएपनि बोल्ने आँट प्रायले गर्दैनन् किनकि तिनले पनि बारम्बार यही उपाय गरेर आफ्नो नक्कली चटारोको विज्ञापन गरेकै हुन्छन । आफ्नै आङ कन्याएर छारो कसले उडाइरहोस् । तैं चुप, मै चुप ।  

त्यसमाथि पावरवालाहरुको चटारोको त के कुरा । 'इयाँलि बियाँलि दिन गुमाई, अधेरी रातमा विस्कुन सुकाई' भने झै समय रहुन्जेल कहिले बैठक त कहिले परामर्श, कहिले निरीक्षण त कहिले निर्देशनको निहुँमा ससुराली देखि माइति सम्म र तरकारी देखि सरकारी सम्म भ्याउने हाकिमसाबले दिन ढल्ने बेलामा टुप्लुक्क कुर्सिमा देखा परेर घण्टि बजाएपछि मातहतका सबैको कन्सिरिका रौं र कन्सिरि भित्रको मथिङ्गल तात्ने नै भयो । अनि त्यसपछि कुर्सिवालालाई सराप्दै र आफ्नो पुर्पुरोलाई धिक्कार्दै कागजको पुलिन्दा बोकेर हाजिर हुने कारिन्दाको चटारोको त झन् के कुरा । लाग्छ त्यो एक छिनको चटारोले उसको जीवनको डुङ्गा नै जलमग्न हुन्छ । हुन पनि घरायशी झैझमेलामा लागिसकेका व्यक्तिका लागि त त्यसको दोब्बर नै बोझ हुन्छ । एकातिर निवासबाट आउने तिन पुस्ते सोध खोज र अर्कातिर सहकर्मिको 'तिमिले त धेरै काम गरेर हामीलाई पनि गार्‍हो पार्‍यौ बा!' भन्ने जस्ता व्यंग्य वाणले घोच्दा आगोमा घ्यू थपे जस्तै हुन्छ ।  

चटारोले कामचोरलाई पनि गजबको बहाना दिन्छ । दिनभरि झिङ्गे दाउ खेलेर बेलुका २-३ गिलांस सोलमारी लगाएर झुम्दै घर पुग्नेले पनि 'आज त पानी पिउने फुर्सद पनि भएन' भन्दै खुइय बनावटी सुस्केरा हालेर आफ्नो फोस्रो चटारो प्रदर्शित गरी पानी माथिको ओवानो हुन खोज्छ । सत्र जनाको अगाडि सत्रथरि कुरा गर्दै अर्काको कामलाई विथोल्दै हिड्ने हावादारिको त झन् के कुरा । उसको कुरा सुन्ने हो भने उ बाहेक सबै निकम्मा नै हुन्छन् । त्यसमाथि पनि सबभन्दा बढी कामचोरलाई अरुको कुरा काटेर आफू अग्लो र सग्लो हुने खुब चटारो हुन्छ । कहिले चुक्लि लगाउने चटारो त कहिले बनेको काममा आफ्नो संलग्नता भएको रिपोर्ट गर्ने चटारो । कहिले सहकर्मिको खुट्टा तान्ने चटारो त कहिले पावरवालाको खुट्टा मल्ने चटारो । 

आजको हाइ स्पीड युगमा सबैले कुनै न कुनै किसिमको भागदौड गरेकै हुन्छन् । काम हुनेहरू काम देखाउन दौडन्छन् भने काम नहुनेहरू कता काम पाइएला र मुखमा माड लाग्ला भन्ने दाउमा दगुर्छन् । फटाहाहरू फट्याइँमा दौडन्छन् भने निमुखाहरू सोझो तरिकाले घिउ निकाल्ने जीर्ण कोशिसमा व्यस्त हुन्छन् । गृहस्थी, विद्यार्थी, कर्मचारी, नेता, अभिनेता, उद्यमी, बेरोजगार, कलाकार, चाटुकार सवै आ-आफ्नै पेटारो बोकेर आ-आफ्नै कहिल्यै नसकिने बाटोमा कहिले कुहिरोको काग झैं त कहिले लखेटिएको हरिण झै कुदिरहेकै हुन्छन् । फुर्सदमा कोहि देखिदैन । ईशावास्य उपनिषदको साबिकको पहिलो हरफको सट्टा अव यसो भन्नु उपयुक्त होला कि - 'चटारोस्य इदम् सर्वम् व्याप्तेन जगत्याम् जगत्' । 

शुक्रबार २७ आषाढ २०७६

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...