Saturday, July 20, 2019

बिपिको 'नरेन्द्र दाई' - पुस्तक समीक्षा

विश्वेश्वर प्रसाद कोइरालाको साहित्यिक परिचय दिइरहनु पर्दैन । सघन मनोवैज्ञानिक विश्लेषण सहितका उनका तुलनात्मक रूपमा छोटा तर सघन साहित्यिक कृतिहरूले नेपाली भाषालाई ठूलो गुन लगाएका छन् । उनको दोषि चस्मा लघुकथा विद्यार्थी जीवनमै पढेदेखि नै कोइरालाको साहित्यिक उचाई र उनको कलमको वजनको बारेमा राम्रै अडकल थियो । त्यसको धेरै पछि सुम्निमा पढ्दा झन् बिपिको मानव समवेदना र मनोविज्ञान सम्बन्धी ज्ञानको गहिराईको थप सघन आभास भयो  ।

अनगिन्ति विदेशी साहित्य र खासगरी पुराना 'क्लासिक' भनिने विशिष्ट लेखकका कृति पढ्दै गर्दा लामो समयसम्म नेपाली भाषाका कृतिमा त्यति ध्यान नगएको कुरालाई स्वीकार गर्नै पर्छ । तथापि विश्व साहित्यको अध्ययनले नेपाली साहित्य र विश्व साहित्यलाई तटस्थ भएर तुलनात्मक मूल्याङ्कन गर्न भने अवश्य मद्दत गर्‍यो ।

अहिले फेरि केहि समय यता नेपाली साहित्य तर्फ रुचि बढेको छ । विदेशि संगसंगै नेपाली पनि पढ्ने क्रम बढेकै बेला भैरब अर्यालको सङ्कलन पढेर आफूलाई मस्त हंसाएपछि संयोगले बिपिको 'नरेन्द्र दाई' पढ्ने संयोग मिल्यो । सरल भाषामा लेखिएको लघु उपन्यास पढ्दै गर्दा त्यसको विषयवस्तुको गहिराई र बिपिको अत्यन्त मधुर लेखनशैलिले हेमिङ्ग्वेको 'बुढो मानिस र सागर' को सम्झना दिलायो । बिपिले मान्छेको लागि प्रेमको महत्व, प्रेमप्रति बदलिंदो सामाजिक अवधारणा, समाजमा विध्यमान पुराना धारणा र त्यही समाजमा विकास भैरहेको नया संस्कारको बीचको द्वन्दलाई अत्यन्त पठनीय ढङ्गले प्रस्तुत गरेका छन् ।

कथाका प्रमुख पात्र 'नरेन्द्र दाई' नै हुन् जो सामाजिक र पारिवारिक अनुशासन तथा वन्धन भन्दा माथि उठेर स्वच्छन्द प्रेमको खोजिमा छन् । उनलाई पिताले विवाह गरिदिएकि र वालावस्थामै भएझै देखिने आफ्नी धर्मपत्नी 'गौरी' प्रति खासै लगाव र आकर्षण छैन । उनी आफूलाई गौरी भन्दा अलग नै राख्न चाहन्छन् । नरेन्द्र सामाजिक रूपले आफूभन्दा निम्न जातीय र पारवारिक परिवेशकी  'मुनरिया' प्रतिको आकर्षणमा गहिरो रुपमै परेका छन् । उनको यो आकर्षण धर्मपत्नी प्रतिको विकर्षण, पारिवारिक अनुशासनमा बाँधिन नचाहने विद्रोही स्वभाव र जातपात सम्बन्धी सामाजिक रूढी विरोधी सोचको योगफलको रुपमा लिन सकिन्छ । समग्रमा नरेन्द्र दाई विवाहित पत्नी लाई पूर्ण तिरस्कार गरी खुलस्त रूपमा आफ्नै घरानामा काम गर्ने अरूकी विविहिता  पत्नी मुनरियाको प्रेमजालमा मस्त छन् । उनकी पत्नी गौरी आफ्नो एकतर्फी प्रेमको आगोमा सदैव पोलिंदै र पिल्सिंदै, आफ्नो नियमित साज सज्जा र वेषभुषा द्वारा नरेन्द्रलाई आकर्षित गर्ने विफल प्रयास गर्दै मौन समर्पणमा लीन छिन् । यसो हेर्दा उनको यो समर्पण मूर्खता र अन्ध समर्पण भन्दा बढी जस्तो लाग्दैन ।

उता मुनरिया पनि आफ्नो विवाहित पति हुँदाहुँदै खानदानी नरेन्द्रको प्रेम व्यवहारलाई निरुत्साहित गर्ने प्रयास गर्दिनन् । लाग्छ उनी पनि नरेन्द्रको प्रेमलाई प्रोत्साहित गरी आफ्नै विद्रोह दर्शाउन चाहन्छिन् ।

कथाको सुखद अन्त्य हुँदैन । नरेन्द्र मुनरियासंग भागेर हिन्दुस्तान जान्छन् जहाँ पुगेर उनी क्षयको रोगी हुन्छन् । रोगी भएपछि मुनरियालाई अलपत्र छोडेर उनी सहारा खोज्दै त्यही परित्यक्ता पत्नी गौरीको काखमा फर्किन्छन् । गौरी न हुन्, नरेन्द्रलाई सहर्ष स्वीकार्छिन र उनको मृत्युपर्यन्त सप्रेम सेवा गर्छिन् । उसबखतको क्षयको रोग, नरेन्द्रको छिट्टै जीवनलिला समाप्त हुन्छ । गौरी पुन: त्यही पुरानो अधुरो प्रेमको अधकल्चो आकांक्षा बोक्दै मानसिक रुपले विक्षिप्त अवस्थामा भुइचालोको शिकार हुन्छिन् । उता मुनरिया धेरै सम्म विभिन्न पुरुषको शिकार हुँदै एउटा बुढो व्यापारीसंग आफूलाई बाध्न पुग्छिन, जीवनको टुङ्गो खोज्दै ।

नरेन्द्रदाईको धेरै अंश एक बाल मनोविज्ञानको पृष्ठभूमिमा लेखिएको छ । त्यसर्थ प्रेम व्यवहारका विभिन्न घटनाको विवेचना स्वाभाविक र निर्दोष प्रतित हुन्छन् । यौन मनोविज्ञानको बारेमा धेरै कुरा लेखिएपनि पढ्दा स्वाभाविक लाग्छन् र पाठकले आफ्नै छवि र झलकमा त्यसलाइ बुझ्न सक्छन् । स्वाभाविक कथा प्रवाहमा पनि नरेन्द्र दाइको कथामा नारीलाई अविरल प्रेम र समर्पणको  श्रोतको रूपमा देखाएको छ । पुरुषले स्वच्छन्द रूपमा जीवन यापन गर्दै गर्दा नारीले जस्तै भएपनि कुनै न कुनै पुरुषको कमिजको फेरो समात्नै पर्ने, उसको मीठो नमिठो व्यवहारलाई पैतालाले किचेर पछि लाग्नै पर्ने र जस्तो निष्ठुरी भएपनि उसको नामको जप गर्नै पर्ने एवम् दीयो बाल्नैपर्ने मानसिकता र सामाजिक परिवेशलाई सटिक व्यङ्ग यस कृतिमा गरिएको छ । कोइरालाको प्रगतिशिल विचारधाराको परिचय पनि यसले दिन्छ ।

नारीलाई पीडित रूपमा चित्रित गर्दा गर्दै पनि लेखकले उनलाई अपरिमित प्रेमको खानीको रूपमा चित्रित गर्न भने छोडेका छैनन् । खासगरी गौरीको नरेन्द्रजस्ता पतिको प्रति पनि निरन्तर प्रेम रहनु र अन्तीम अवस्थामा आफ्ना सबै घमण्ड चकनाचुर भए पछि घर आएका नरेन्द्र प्रतिको उनको निश्छल प्रेमले पनि हरेक पाठकलाई नारीको प्रेमको पराकाष्ठाको परिचय दिन्छ । अर्को तिर मुनरियाको कुण्ठा र पीडाको वीच नरेन्द्रलाई घर फर्किन अनुमति दिने व्यवहार पनि त्यस्तै समर्पणको उदाहरण हो । शायद पुरुषले नारीले जति प्रेमलाई बुझेका छैनन् र उनिहरू नारीहरू जति स्वाभाविक प्रेम गर्न जान्दैनन् । समाजको दुर्भाग्य नै भन्नु पर्ला पुरुषले अझैपनि नारीलाई गर्नुपर्ने सम्मान र समान व्यवहार गर्न सकेका छैनन् ।

जे होस्, बिपिको कल्पनाशिलता र मनोविश्लेषणको उत्कट क्षमताको राम्रो नमुना 'नरेन्द्र दाई' पढ्दा पाउन सकिन्छ र उनका अरू कृति पढ्न पनि प्रेरित गर्छ । उनको नेपाली गद्य क्षेत्रमा रहेको मौलिक योगदान विशिष्ट छ ।

शनिवार ०४ श्रावण २०७६

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...