सार्वजनिक यातायातको विहानको छाकको धक्का मुक्की खाइसके पछि करिब आधा कोश हिडेर बल्ल बल्ल कार्यालयको ढोकामा के पुगेथैं पालेदाईले तनक्क तन्किएर, गर्दन अर्हरो पारेर 'सलाम साप' गरिहाले । आफूले त्यस अघि कहिल्यै सलाम खाइएको थिएन । अचानक त्यत्रो गरिमामय सम्मान पाउँदा के के न पाए जस्तो भैहाल्यो । त्यस पालेलाई के गरी सलाम फर्काउने? सलामै गर्ने कि? नमस्कार गर्ने कि? निकै ठूला भनिने हाकिम हाकिमनि ले एक रौं जति पनि टाउको नहल्लाई र एक अङ्गुल जति पनि हात नउठाई अगाडि बढ्दा पनि त्यही पालेले दिनका दिन त्यसैगरी सलाम ठोकेको पनि देखेको थिएँ । तर आफूले पो के गर्ने? के गर्ने भनी निर्णय गर्छु भन्दा भन्दै गोडाहरू त चलेको चल्यै ! त्यति पर पुगेको मान्छे फेरि पालेलाई सलाम फर्काउन फर्की फर्की आउनु पनि भएन, इज्जतको कुरो । जे त होला भनी नीच मारेर लागेँ कार्यकक्षतिर । तथापि त्यसदिन जीवनमा पहिलोपटक पएको त्यति सटिक सलाम फर्काउन नसकेकोमा कुरी कुरी भने लागिरह्यो ।
सलाम गजबको चीज रहेछ । खासगरी म जस्ता कर्मचारी जसले दिनभरी सलामको त के कुरा अनेक द्वन्द प्रतिद्वन्दमा चोटिल भएको मथिङ्गलमा सहानुभूतिको मलम समेत भेट्टाउन गार्हो हुन्छ, उसलाई झुक्किएरै किन नहोस पाले भाइले सलाम ठोक्दा आफू सीधै सगरमाथाको टुप्पामा झण्डा गाड्न पुगेको भान पर्ने रहेछ । यति भन्दा यो चाहि नपरोस कि सलामको महत्व र खोजी मैलाई मात्र छ ।
एकजना ठूलै, भनौ भिमकाय ओहोदाकै मान्छे, नियमित मेरो कार्यालयमा आउँथे, म भन्दा दशौं गुणा बढी सलाम पाउने मेरा अर्दा भीमकाय ओहोदाका महामहिमसंग गहन विचार विमर्श गर्न । स्वाभाविक कुरा हो ती भीमकाय अतिथिलाई भित्र आउँदा आउँदै सलाम खाने बानी परिसकेको थियो । सलाम नपाउँदा तीन घण्टा सम्म पशुपतिको चक्कर काटेर दर्शन नगरी फर्कन पर्दा जस्तो वा मैले विद्यार्थी हुँदा ५ घण्टा सम्म मट्टितेलको लाइनमा वसेर पाउने बेलामा ट्याङ्कि रित्तिए जस्तै निराश हुनुपर्थ्यो ती महामहिमले । यो त स्वाभाविक भैगयो ।
ढोकामा पाईलो पर्ने वितिक्कै 'सलाम साप!!' भनेर ड्याम्म बुट बजारेर, सुचिकारले लुगा नाप्न लागेको बेलामा जस्तो तनक्क तन्किएर निधारमा सीधा हात पारेर सलाम ठोक्दा आफ्नो देब्रे हातको चोरी औंलो एकअङ्गुल उठाए जस्तो गर्दै अर्को तिर फर्केर चार मिलिमिटर जति टाउको ढल्काउदै र गजक्क पर्दै भित्र पस्ने उनको बानी अनौठो थिएन । बरू उनि जस्ता सबै मनिषीहरूको लागि स्वाभाविक र अपेक्षित कुरा नै थियो ।
यस्तै क्रममा एक दिन कुरो अलि फरक परेछ । के परेछ भने पाले पठाउने ठेकेदारले त्यस दिन त्यो ठाउँमा फरक केटो पठाएछ । केटो फरक भन्ने वितिक्कै कसलाई सलाम ठोक्ने कसलाई नठोक्ने भन्ने भेउ पाउन उसलाई केही समय लाग्ने नै भयो । त्यही दिन हाम्रा महा मनीषिको पनि आउने दिन परेको रहेछ । समयमै उनी हातको तालमा कोटको फेर समेत दुई बित्ता परसम्म हल्लिने गरी र स्लो मोसनमा बजाएको ट्याम्को जस्तो जुत्ताको मधुर 'टक, टक' आवाज पार्दै आइपुगे दैलोमा । नौलो पालेले मान्छे चिनेन । हुन त उसले पनि लवाई खवाई, कोटको उडाई र जुत्ताको ठोकाई देख्दैमा 'यिनि ठुलै सलाम खाने हुन्' भनी बुझ्नु पर्ने, त्यसदिन उसको पनि घरवालीसंग ठाकठुक परेर हो कि, अलि मूड ठीक रहेनछ क्यार, सलाम निस्केन ।
सधै पाउने सलाम नपाउँदा परेन फसाद् । हाम्रा महापुरुषलाई ठूलै ठेस परेछ । भित्र गएर स्थानीय ठालूलाई बचन वाण प्रहार गरिहाले "होइन हो, तपाईंहरू पनि यी गार्डहरू कहाँ कहाँबाट ल्याउनुहुन्छ? को आयो, को गयो, रत्ति पनि मतलब छैन यिनिहरूलाई !!"
"हो र हजुर? त्यो केटो नयाँ आएको रहेछ । अलि ख्याल गरेन जस्तो छ । अब त्यस्तो हुँदैन हजुर ।" हाम्रा स्थानीय ठालूले विन्ती विसाएछन् ।
त्यस दिन सदाझै बन्ला भनेको काम बनेनछ र मिल्ला भनेको कुरो मिलेनछ । अनेक प्रश्न र प्रतिप्रश्न तेर्स्याउँदै "फेरि हेरौंला" भन्दै महापुरुष बाटो लागेछन् । कुरो प्रष्टै थियो । कुरो बिग्रेको सलामले नै गर्दा थियो । सँधै सलाम पाउने मनिषिले सलाम नपाएको त्यस दिन घरमा पनि जहान र लालाबालाले राम्रै खरी खोटी सुन्नु पर्यो होला भन्ने अड्कल मैले चाहिँ काटें ।
सलामको टेन्सनको नै कुरो गर्नुहुन्छ भने टेन्सन सलाम खानेलाई मात्र हुने रहेनछ । सलाम ठोक्नेलाई पनि टेन्सन नै रहेछ । आफू त परियो कामचोर । हाकिम वरिपरि हुँदा वा सहपाठी ले देख्ने बेलामा कि त कागजको पातोमा कि भने कम्प्युटरको पर्दामा हेरेर आफूलाई बिजि देखाउने मेरो बानी यहाँले अड्कल गरिसक्नु भयो होला । त्यस एक दिन त्यस्तै मौका परेको बेलामा आफूले आफैंलाई 'काम साम गोलि मार' भन्दै झ्याल बाहिर नेत्र रन्जन गर्दै थिएँ, नजर उहि गेट पालेमा पर्यो । छुट्टी हुने बेला थियो । मानिसहरू बाहरिंदै थिए । बिचरा सलाम ठोक्ने पाले भाईलाई बडो चटारो परेको थियो । कसैलाई सलाम ठोक्न छुट्ने हो कि? कोहि कुपात्रमा सलाम खर्च हुने हो कि? पाउनेले नपाउँदा भोलि आफ्नो थाप्लोमा गालि बर्सिने र त्यही कारणले ठेकेदारले गलहत्ती लगाउने हो कि? मजाको थाई जागिर भए त झण्डा र डण्डा समाए पछि हाकिमका हाकिमले पनि केहि गर्न सक्ने थिएनन् तर आफ्नो त पर्यो म्यादी ज्यालादारी जागिर, आज गयो भने भोलि मुखमा माड नलाग्ने डर । यस्ते यस्तै तर्कना पाले भाइको मनमा उठ्दो हो र त बिचरो पखेटा काटिएको चरो जस्तो फिट फिट परेको । सलाम पाउनेलाई भन्दा पनि सलाम ठोक्नेको टेन्सन ठूलो जस्तो ।
महामहिमले सलाम नपाएकोले टेन्सन भएको कहानी सुनेपछि त मलाई पनि सलामको खुव लोभ लाग्न थाल्यो । त्यसैेले आजभोलि कार्यालय आउँदा जाँदा परैबाट पाले गेटमा भएको मौका हेरि भित्र बाहिर गर्ने गरेको छु । दिनभरी बाउन्न हण्डर, त्रिपन्न गोता र हाकिम साबको चौसठ्ठि वटा उपदेश सुनेर जीर्ण भएको दिमाग र थिलथिलो भएको ज्यानलाई एउटै सलामले पनि एक पातो भिटामिन चक्किले जस्तै काम गर्दो रहेछ । सलाम खानलाई पाले भाइ वा पाले दाइले देख्ने गरी नजीकै बाट हिड्यो, जबर्जस्ति भएपनि उनको मुखमा आधा हाँसो सहित हेर्यो अनि पायो "सलाम साप!"। त्यस पछि त के छ र, कुखुरै नै भएपनि छाति चौंडा र शिर ठाडो पारेर आँखिभौं दुई मिलिमिटर, टाउको तीन मिलिमिटर र देब्रे हातको चोरी औंलो १ इन्चि उठाए जस्तो गरी मन्द ईशारा सहित अगाडि बढ्दा दिनभरिको थकान मेटेको भान हुने नै भयो ।
त्यसैले, यदि निराश हुनुहुन्छ भने वा मुड ठिक छैन भने पनि अब खुशि हुनुहोस । मैले तनक्क तन्किएर दुइटा औंला निधारमा राखेर, कुहिनालाई टाउकोको लेवलमा पुर्याएर, बुट नलगाएको खुट्टा भएपनि कुर्कुच्चा दुख्ने गरि बजारेर फुर्तिसाथ तपाईलाई भन्छु, "सलाम साप!!", "सलाम साप'नी!!" ।
बुधबार ०८ श्रावण २०७६ (२४ जुलाई २०१९)
No comments:
Post a Comment