Friday, August 9, 2019

सुनगाउँको मस्ती

कस्तो अल्छि दिन परेछ ।

दिन काट्न पनि कति गार्‍हो । बैशाखो उखरमाउलो गर्मी । काम खासै थिएन । वा भएर पनि गरिएन । खाली खाली पन । मनले अल्झिने बाटो खोजिरहे जस्तो ।

मनमनै दिक्क हुँदै गर्‍हौं पाइलाले म बारिको डिलतिर लाग्छु । घामले नेटो काट्नै लागेको छ । मेरो घर अगाडि नाकको टुप्पो नै छोला जस्तो डाँडो छ । डाँडोको टुप्पो भन्दा केहि माथि पुगिसकेको घामले पनि पुर्पुरो सेकिरहेको छ । अपरान्हमा हरेक दिन जसो डाँडामाथितिरबाट फाँटतिर बग्ने दक्षिणी हावाको बेगले घामको पोलाईलाई केहि कम गर्छ ।

बारिको डिलको जमुनाको फेदमा शितल ताप्दै म चारैतिर नजर दौडाउछु । आज तीन हप्तापछि म सुनगाउँ आएको, शहरबाट । कोहि अरबमा भासिए, हुने खाने र पढेलेखेका कैयन युवा अमेरिका, अस्ट्रेलिया र युरोपमा भासिए । म भने स्वदेशकै शहरमा भासिएँ । कहिले कामको बहानाले, कहिले पढ्ने बहानाले, कहिले लामो बाटोको बहानाले, कहिले छोराछोरी पढाउने बहानाले । हरेक चरणमा कुनै न कुनै बहानाले म तीन दशकदेखि शहरमा भासिँदै छु । कुनै बेला प्रत्येक हप्ता गाउँ जाने म अचेल २-३ सातामा जान्छु । बहानाको कमी छैन । कार्यालय, बजार, घुमघाम, छोराछोरी, अल्छिपना, भत्केको बाटो, वर्षा, सुख्खा, धुलो, बन्द - कति हो कति ।

जमुनाको बोटको हावा खाँदै पर पाखामा देखेँ एक लर्को मान्छे, उकालो चढ्दै गरेका । महिला अलि धेरै । पुरुष अलि कम । केहि ठिटा ठिटी पनि ।  सबैका पछाडि फुक्क फुकेका भिर्ने झोला । म सजिलै अनुमान लगाउछु, हरेक झोला भित्र प्लाष्टिकको जर्किन छ, खाली । एकाबिहानै ती झोला भित्रका जर्किन टन्न भरिएर ओरालो लागेका, खाली भएर फर्किए । फेरि भरिनुछ र भोलिबिहान यथावत् ओरालो लाग्नु छ ।

ती लस्कर लागेका मान्छेका घर घराना छरपस्ट छन्, डाँडाको काखभरी । दिनभरिजस्तो ती घर, टहरा, छाप्राबाट दाउरा बालेको धुँवाको मुस्लो गगनचुम्बी हुँदै निस्किरहन्छन् र हावामा विलाउँछन् । फेरि जर्किन भर्ने सर्दाम तयार गर्दै । नजिकबाट हेर्दा हरेक घरको आँगन वा पिढीमा देखिन्छन ठूला र काला ढुङ्गे चुल्हाहरू, दश पाथी भन्दा बढी पाक्ने फोसीहरू, एक माथी अर्को गरी खात लगाएर चुल्होमाथि राखिएका वा माँझेर कालो पींध आकाशतिर फर्काएर घोप्ट्याइएका । दिनभरि जोतेर केही चारो टिप्न छोडिएका गोरु जस्तै । घर नजिकै चीनको ग्रेट वाल विर्साउने दाउराका चाङ्, अगेनुमा जोतिने प्रतिक्षामा घाम पानी सहन गर्दै । 

ती जर्किन, ती झोला, ती फोसी, ती अगेना, ती दाउराका पर्खाल - सबैको एउटै प्रयोजन । त्यो प्रयोजन त्यस्तो पेयको उत्पादन हो जसले क्षणभरमा निमूखालाई वाकपटु र निर्धनलाई दादा बनाइदिन्छ । मतलव रक्सी, जाँड, सोलमारी, खोया विर्के, टुच्च लाउने चीज वा जे भन्नुस । सारा सुनगाउँमा यसको हलचल छ । मानौ विशाल उद्योग चलेको छ । 

गहूँ, कोदो, चामल, मकै पाथिका पाथि पाकिरहेका छन्, सडिरहेका छन् जडिबुटि सहित र तिनको सडित झोलबाट मादक रस निकाल्ने काम अनवरत चलिरहेको छ । परिणामस्वरुप हरेक दिन बिहान एउटा क्याराभान शहरतिर झर्छ झिसमिसेमै । झोलामा नदेखिनेगरि बोकिएका जर्किनमा के छ सबैलाई थाहा हुन्छ तर सबै थाहा नपाएजस्तो गर्छन् । प्रहरीले चेकिङ्ग गर्दैन वा कहिले काहिँ मात्र गर्छ । विभिन्न ठाउँमा एक पछि अर्को गर्दै झोला बोकेर झर्दै कुनै न कुनै गल्लि छिरेर पूर्वनिर्धारित होटेल, रेस्टुराँ वा भट्टीमा भरीभराऊ जर्किनहरू लगिन्छन्, राखिन्छन र पैसोको लेनदेन हुन्छ । एक प्रकारको मौन व्यापार । केही बोल्नु पर्दैन । इशारामै सबै काम हु्न्छ । सामान ल्याउनेको र पैसा दिनेको । जर्किनमा किन्नेले गिलाँसमा बेच्छ गतिलो नाफामा । जर्किन ल्याउनेले पनि अन्नको भन्दा दोब्बर भाउ पाउँछ । 

विज्ञानले भन्छ, खानेकुरा पेटमा पच्ने बेलामा अल्कोहलमा परिणत हुन्छ । तर सुनगाउँको यो उद्योगले त्यो प्रक्रिया धेरै सजिलो पारेको छ । खानेकुरा पहिल्यै जडिबुटीले गलेर फोसिमा वाष्फिकरण हुँदा अल्कोहल भएर जर्किनमा पुग्छ र मापसे गर्ने मस्तालुहरूको रोम रोममा एकै सर्कोमा पुग्छ । दालभात जस्तो खाएपछि घण्टौं कुर्नुपर्दैन 'लाग्न' को लागि । तुरुन्तै लागिहाल्छ । अनि 'मुकं करोति वाचालं' भने जस्तै निमुखा पनि प्रखर भएर आउँछ । लुलो पनि पहाड नाघौंला झैं गर्न थाल्छ । गजबको चीजको मुल फुटेको छ सुनगाउँमा । 

हरेक सांझ सुनगाउँको चोकमा र धेरै घरका आँगनमा अनेक जोडी पाइला आइपुग्छन् । कतिपय नौला । अरू धेरै नियमित आउनेहरू पनि । कोही दुई पाङ्ग्रेमा, कोही पैदल त कोही चार पाङ्ग्रेमा पनि । बेन्चमा, मुढामा, आँगनको डिलमा, मेचमा, आलिमा धेरैको आसन हुन्छ र शुरु हुन्छ टुच्च लगाउने काम । न केहि गल्दो छ न केहि वित्दो छ । आमाहरूले छोरा खोजिरहुन । छोराछोरीले बाबु बोलाइरहुन । वा दुलहीहरूले दुलहाको बाटो हेरी टोलाइरहुन । मस्तालुले मस्ती गर्न छोड्दैनन् । एक पछि अर्को स्टीलका गिलाँसहरु रित्तिंदै जान्छन । एवम् रीतले जति पेटमा पानी भरिंदै जान्छ र जर्किनहरू रित्तिंदै जान्छन त्यति नै मस्तालुहरूको खल्तिका नगद पनि भट्टिवालको खजानातिर बसाँइ सर्दै जान्छन् ।

त्यसो त सुनगाउँमा मस्ती गर्ने अरू पनि साधन छन् । बिहान झिसमिसे देखि वेलुकी गोधुली सम्म पसलको पिढीमा वसेर गफिनु । क्यारम र पोटको वरिपरी खेलाडीको रूपमा वा ती भन्दा कैयौं गुणा बढी तमासेको रूपमा होहल्ला गर्नु । अथवा बाउन्न पत्ती कितावका पाना हातमा लिंदै दिनभरी सुकुलमा बसेर चिया र चाउचाउसंगै सह-अध्ययन गर्नु । यी यावत् साधनले त घर परिवार र इष्टमित्र मात्र भाँडेका होलान् तर जर्किनको झोलले त पिउनेलाई पनि बाहिरबाट हरिलठ्ठु र भित्रबाट अस्थिपञ्जर बनाइरहेको हुन्छ । तर पियक्कडहरू थाहा नपाए झैं गर्छन् ।

अचानक एउटी महिला सेतो वस्त्रमा उकालो लागिन् । नियालेर हेरें चमेली भाउजु रहिछन्, गोगने दाजुकी घरवाली । अस्ति मात्र गोगने दाजुको स्वर्गबास भयो । कसैले बाण लाग्यो भने त कसैले पिचास । लागेको त उसलाई जर्किनको झोल नै थियो । बिहानै देखि टिल्ल परेर सोलमारीको सुगन्ध छोड्दै लरबराउँथ्यो गोगने । कहिले बाटो छेउको ढुङ्गोलाई गालि गर्थ्यो त कहिले आफ्नो पछि लाग्ने भुस्याहा कुकुरसँग बात मार्थ्यो । झुस्स दार्‍ही, कलेटी परेका नीला ओठ, रङ्ग उडिसकेको फुस्रो छाला र मैलो परिधानमा ऊ घरदेखि भट्टी र भट्टीदेखि घर गरिरहन्थ्यो । रीस उठे छोराछोरीलाई झट्टी फाल्थ्यो वा छोराछोरीकी आमालाई भकुर्थ्यो । एकदिन खपिनसक्नु भएर छोराछोरीकी आमाले पनि ठटाइदिइछ । सहोस् पनि कति दिन । त्यही दिन भट्टीमा अरू दिन भन्दा तेब्बर चढाएको, भोलिपल्ट चट । राती नशामै सुतेको बिहान उठ्न भ्याएन । कलेजो च्यातियो वा मुटु फुट्यो, कसले थाहा पउने । खरानी भैगयो ।  उसले जिउँदो हुँदा दिएको शासनाको बिचार गर्दा लाग्छ घरवालीले पनि अलिकति त चैनको सास फेरी होला । तर पनि लालाबाला टुहुरा हुँदा र पापिस्ट नै भएपनि लोग्ने मर्दा दुख पनि पक्कै लाग्यो नै होला । सुनगाउँमा गोगने जस्ता कति छन् कति । दुखमा कति कति घरवालीहरू निसस्सिरहेका छन । कैयन लालाबालाको बालापन बीचैमा चुँडिएको छ ।

रक्सी उद्योगले धेरै घरलाई सजिलो आय दिएको छ तर त्यही रक्सीले तिनै घरका मान्छेको ज्यान पनि लिएको छ । निकम्मा भएर बिग्रिएका पुरुषको त झन् सङ्ख्या अत्यधिक छँदै छ । खासगरी महिलाहरूले दिनभरी आगोमा जोतिएर र धुँवामा सास फेरेर बनाएको रक्सीले नगद त दिलाएको छ तर उनिहरूकै खसम र छोराहरूलाई पियक्कड बनाएर बिगारेको पनि छ । चमेली भाउजुकै कुरा गरौं, निधारको छाला कालाम्मे हुनेगरी उनले बनाएको रक्सी नै घुमिफिरि उनको बुढाको शरीर खोक्र्याउन सहयोगी बन्यो र गोगने दाजु उमेर नपुग्दै परमधाम पुग्यो, चमेलीलाई एक्लै छोडेर ।

कुनै समय थियो रक्सी पिउने चलन त्यस्तो व्याप्त थिएन । कोही जातको कारणले, कोही बाबुआमाको डरले र कोही अन्य कारणले जाँड रक्सी पिउँदैनथे । तर अहिले ती सबै पर्खाल लगभग भत्किए । जातभातको त कुरो स्वाभाविक रूपले नै विस्तारै हराउनुपर्थ्यो, हराउँदैछ । त्यसको साथसाथै छोराछोरीको बढी स्वतन्त्रता, नगदको बढी उपलब्धता तथा गाउँ बाहिरबाट आउनेको बढ्दो सङ्ख्याले पनि पिउने प्रवृत्तिलाई उरालेको छ ।

पहिला पहिला 'सूर्य अस्त, .......... मस्त' भन्ने चलन थियो । तर विस्तारै सूर्य अस्त पनि हुनु नपर्ने गरी मस्तीको प्रभाव बढेको छ । र बढेको छ त्यो मस्तीले ल्याउने सास्ती पनि । थाहा छैन यस्को परिणाम अझै कति विनाशकारी हुने हो, भविष्यको पुस्ताको लागि ।

आइतवार २६ श्रावण २०७६ (११ अगस्ट २०१९)







No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...