पशुपतिनाथमा लाग्ने प्रमुख मेलाहरू मध्ये बालाचतुर्दशी प्रमुख हो । मेलाहरू मध्ये पनि यो मेला अलि फरक छ । रातभर पशुपति मन्दिर वरिपरि बत्ती बालेर र पूजा आराधना गरेर जाग्राम बस्ने र चतुर्दशीको दिन बिहानै शतवीज छर्ने चलन भएकोले पनि यो पर्व अन्य भन्दा फरक छ । सोही कारणले यसले सिर्जना गर्ने समस्या पनि फरक छ ।
आज बिहानै प्रभातकालिन विचरणको बहानाले पशुपति क्षेत्रतिर बरालिदा हिजोको बालाचतुर्दशीको पराकम्पन महसुस भयो । कैलाश डाँडामा चढ्ने सिँढी देखिनै शतविज भनेर छरिएको अनाज, उखुका टुक्रा, फलफुलका टुक्रा आदिले बाटो भरिभराउ थियो । लाग्छ सैयौं मुरी अनाज शिवजीको नाममा जमिनमा छरेर र कुल्चिएर नै बर्वाद भयो होला । पर्वको दिन बिहानै कार्यालय जाने बेलामा सडकका पेटी भरी थुप्रा का थुप्रा अनाज र फलफुलका मिश्रण देखिएका थिए । स्वाभाविक रूपमा ती सबै पशुपति क्षेत्रका चौर, जंगल, बाटो र सिंढिमा छरिए, शिबजीलाई खुशी पार्न, पितृ तार्न र आफ्नो परत्र सुधार गर्न ।
तर आज बिहानको दृष्यमा अनाज छरेको भन्दा पनि नरमाइलो देखियो । बाटो भरि, कैलाश डाडाको माथि मैदानभरि, सिढि भरि सर्वत्र प्लाष्टिक नै प्लाष्टिक । हजारौंको संख्यामा, पाइलो राख्ने ठाउँ सम्म पनि नहुने गरि प्लाष्टिक । पशुपतिको जात्राको यो परिणाम देख्दा शिवजीले पनि मन खिन्न पार्लान जस्तो लाग्यो । कपास खेतमा ढकमक्क कपास फुलेजस्तो चौरभरि सेता प्लाष्टिक र तिनका बीचमा खानेकुरा खोज्दै गरेका बेवारिसे बाच्छाहरू, प्लाष्टिकको सामान बटुल्दै गरेका दयनीय देखिने ठिटाहरु र त्यो अस्तव्यस्तताको बीच व्यायामको रूपमा प्रभातकालीव विचरणको लागि पाइलो राख्ने ठाउँ खोज्दै गरेका म जस्ता मानवहरू मिश्रित दृष्यले विचलित र दिक्क बनायो । सधै व्यायाम गर्ने र विचरण गर्नेहरूले भरिने चौर फोहोरले भरिँदा उदास लाग्नु स्वाभाविक नै हो ।
प्रश्न उठ्छ, के यस्तो हुनु जरुरी छ? के प्लाष्टिक बिना भजन, जाग्राम र पूजा सम्भव छैन? के पूजाको नाममा मुरीका मुरी अन्न मिल्काउन, कुल्चिन र नष्ट गर्न जरुरी छ ? के त्यो अन्न व्यवस्थित रूपमा कतै मन्दिरको नाममा नै अलग अलग संकलन गरेर प्रयोग गर्न सकिंदैन? त्यही पशुपति क्षेत्रमा गाई संरक्षण आश्रम छ जसका संरक्षक गाईको दाना जुटाउन दशतिर भौंतारिन्छन् । वरिपरि हजारौंले छर्ने हजारौं किलो अन्न संकलन गरेर गाई आश्रमलाई दिन सकन्छ । राम्रो अन्न पशुपति क्षेत्रमै दिनहुँ चल्ने भोगमा वा वृद्धाश्रम, अनाथाश्रममा उपयोग गर्न सकिन्छ । त्यसै गरि प्लाष्टिकको सट्टा पुन: प्रयोग हुने झोला प्रयोग गर्न जनचेतना फैलाउन वा प्रतिबन्धित नै पनि गर्न सकिन्छ । यसो गर्दा पशुपतिनाथ पनि शतवीज छर्दा भन्दा अलि बढी नै खुशी होलान् कि ?
मंगलबार, १० मंसिर २०७६ (Tuesday 26 November 2019)
No comments:
Post a Comment