समय वित्न कत्ति पनि बेर लाग्दो रहेनछ । हिजै जस्तो लाग्छ पोहोर सालको दशैं मनाएको, दौडधूप र चटारो परेको । फेरि अर्को दशैंले दैलोमा पाउ राखिसकेछ । धान काट्ने किसानको ७४ सालको हातको ठेला मेटिएकै छैन होला फेरि ७५ सालको धान काट्ने बेला भएछ । पोहोर दशैंमा चिनो र टेलिफोन बार्तामा चित्त बझाउने परदेशिका आमा, बाबु, प्रियतम र प्रेयसीको आंखाको आंसु र ओठको सुस्केरा ओइलाएकै छैन होला फेरि अब त आउने हो कि परदेशी भनेर बाटो हेर्ने बेला भैसकेछ । अथवा फेरि पनि प्रियजन भेट्न नपाउँदा परेली भित्रै आँसु र ओठभित्रै सुस्केरा सकी नसकी अड्याउने दिन आइसकेछ ।
आकाशभरि चङ्गाहरू, फाँटभरि लिंगे पिङ्गहरू र शक्तिपिठभरी श्रद्धालुहरूको भीड देख्दा लाग्छ शहरबासीले घुलो, धुंवा र बाटाका खाल्टा विर्सिए, गाउँबासीले खेतिको चटारो, रित्तो खल्ती र खर्चको बोझ विर्सिए । पानी नअाउने धारा, गाडी नगुड्ने सडक र बेसाउनै नसकिने बजारिया सामानको पिरलोले थिलथिलो बनाएको जीवन परिवेशमा पनि अलिकति खुशिको सिर्को जनमानसले पाए । केही दिनको लागि भएपनि थोरै तनाव र धेरै उमङ्ग बीच जीवनको लामो यात्राको लागि आफ्नो शारिरिक तथा मानसिक सामर्थ्य पुनर्ताजगी गर्न सके । यो भन्दा ठूलो उपहार शायद चाडबाडको अरू नहोला ।
कतिका घरमा लामो समयपछि उज्यालो भयो होला । कति नानीहरूले वर्षौं पछि पूरा परिवार देख्न र चिन्न पाए होलान् ।, कति जोडिले सिरानीको तस्विरको साटो साच्चिकैको प्रिय अनुहार हेर्न र न्यानो अङ्गालोमा बेरिन पाउँदा अमूल्य आनन्दानुभूति गरे होलान् । देशका लाखौं कर्मठहरू अझै पनि खाडी, मलाया र खै कता कता घूंडा धस्दै, पसिना काढ्दै दशैंमा घर जान नपाउँदाको दु:ख विर्सिन खोज्दै होलान् ।
बाकसभरी मायाको चिनो बोकेर आउने आशा गर्दा गर्दै आफ्नो परदेशी बाकसमा बन्द भएर आउँदा छिया छिया परेको मुटु र च्यातिएर छरपस्ट भएको जिन्दगीका टुक्राहरू संगाल्न खोज्दै आफ्नो भाग्य देख्दा विश्वास गर्न नसक्ने पनि कति होलान् कति । समाजभरी उल्लास र रमाइलोले परिवेश मग्न हुंदा तिनका मनमा डढेलो र भविष्यमा भड्खालो पर्दा पनि चित्त बुझाउनुपर्ने नियति र फेरि सम्हालिने शक्तिले अरुलाई पनि प्रेरणा प्राप्त हुंदो हो । धन्य हो मानिस, जति दु:खमा पनि उठ्ने र जति खुशिले पनि नपुग्ने । मानिस बनाउने कोहि योजनाकार रहेछ भने उसलाई त मान्नै पर्छ ।
असमान समय, असमान जीवन, असमान भोगाई, जति धेरै मान्छे त्योभन्दा धेरै कथा, व्यथा, हासो, रोदन, खुशी, उदासी, सफलता, असफलता, प्रगति र दुर्गती बीचको जीन्दगी र परिवेशमा समयको टिक टिक संगै बारम्बार आउने चाडबाडले नयां शक्ति, उमङ्ग र दु:खै दु:खको बीच पनि झीनो आशा र भविष्यको अभिलाशा कायम गर्ने रहेछ । लाग्छ यी चाडबाडको चलन त्यसैको लागि हो । मान्छेको रित्तिन लागेको ब्याट्री चार्ज गर्न र इन्जिन मर्मत गर्न ।
जय चाडबाड !!
शुक्रबार, २६ असोज २०७५ (१२ अक्टुबर २०१८)
No comments:
Post a Comment