Sunday, October 14, 2018

वुद्धिसागरको प्रेरणादायी कथा

आज अनलाइनखबरमा ख्यातिप्राप्त आख्यानकार बुद्धिसागरको अन्तरवार्ता पढ‍ें । मन छोयो । उनि प्रशिद्ध उपन्यास 'कर्णाली ब्लुज' का सर्जक हुन् । देशको दुर्गम क्षेत्रमा जन्मिएका र पढाइमा समेत औसत भन्दा कमजोर वुद्धिसागर अहिले देशकै अग्रणी आख्यानकार भएको प्रसंग सार्‍है प्रेरणादायी लाग्यो । पढाइमा अब्बल हुनु र राम्रो जागिर वा व्यवसाय गर्नुलाई आम रूपमा सफल जिन्दगीको मानकका रूपमा हेरिन्छ । तथापि वुद्धिसागरले सानैदेखि पढाइको निम्न स्तरको वावजुद आफ्नो रूची र चाखको विषयलाई अंगालेर त्यसैलाई एक प्रभावकारी जीवनयापनको माध्यम बनाए । त्यसैबाट नाम र संगसंगै दाम पनि कमाए ।  

धेरै लेखपढ गरी गतिलै जागिर खाएका भएपनि र व्यक्तिगत रूपमा सम्पन्न जीवनयापन गर्न सकेका भएपनि उनि शायद अहिलेका ख्यातिप्राप्त र सम्मानित वुद्धिसागर बन्न सक्ने थिएनन् होला । आम रूपमा गरिने पेशागत काम र सृजनात्मक काममा त्यही त फरक छ । सामान्य पेशागत काममा जति सफलता पाएपनि त्यसको प्रभावक्षेत्र कम र सीमित हुन्छ । सृजनात्मक कामको भने त्यो क्षेत्र सार्‍है फराकिलो हुन्छ । 

अझ अहिलेको सूचना समाजमा कोठामा बसी बसी पनिे लेखक कविले आफ्ना रचना संसारभर फैलाउन सक्छन् । लेख्न, प्रकाशित गर्न र त्यसको प्रचार प्रसार गर्न अभूतपूर्व रूपमा सजिलो भएको छ । कयौं लेखक देखिन्छन जसले आफ्ना छिटपुट रचना सामाजिक सञ्जालमा हालेको भरमा गतिलो सर्जक बनेर निस्किएका छन् । कुरो लगनशिलता र आफ्नो क्षमता पहिचानको नै बढी रहेछ, श्रोत साधन र पहुँचको भन्दा । 

व्यक्तिले आफ्नो रूची अनुसारको सपना र सपना अनुसारको प्रयास बाट नै नाम र दाम कमाउन सक्दो रहेछ । कता कता विख्यात हि‍न्दी चलचित्र थ्री इडियट संग पनि भाव मिले जस्तो छ । 

लाग्छ वुद्धिसागरको कथाले यो शब्दकारलाई पनि केहि गर्ने जांगर र प्रेरणा प्राप्त भैरहेछ ।  शायद अरु धेरैलाई पनि प्राप्त भएको होला । प्रेरणा भनेको टुसा उम्रिन लागेको बिउलाई माटोमा चिस्यान र हावामा उचित उष्णता प्राप्त भए जस्तै हो । बढ्न र मौलाउन मद्दत गर्ने । आफ्नो क्षमतालाई चिन्ने, सो अनुरूपको सपना देख्ने र त्यो सपनालाई चरितार्थ गर्न सत्प्रयाश गर्ने प्रेरणा वुद्धिसागर जस्ताको जीवनबाट सबैलाई प्राप्त होस । 

आइतबार, २८ असोज २०७५ (१४ अक्टुबर २०१८)

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...