२०७४ सालको मदन पुरस्कार प्राप्त नेपाली उपन्यास योगमाया गत साता मात्र पढि सिध्याएँ । किताबी किराको लागि राम्रै खुराक रहेछ । त्यो भन्दा पनि बढी तात्कालिन परिवेशको भाषा शैलीमा लेखिएको हुँदा पढ्ने आनन्द झन् बढ्यो । ऐतिहासिक परिवेशमा लेखिएको र सामाजिक सुधारमा बलिदानपूर्ण योगदान दिने योगमाया जस्तो अद्वितीय व्यक्तिको जीवनीमा आधारित भएकोले ऐतिहासिक ज्ञान पनि धेरै प्राप्त भयो । छोटा र मीठा वाक्य विन्यास, अति प्रासंगिक उखान-टुक्का र ठेट शब्दाबली समेत समावेश गरी नीलम कार्की निहारिकाज्युले आफ्नो विशिष्ट लेखन शैलि र सिर्जनशिल आख्यानकारिताको नमूना दिनुभएको रहेछ ।
किताव पढ्दै जाँदा झण्डै एक सय वर्ष भन्दा पहिलेको (वि. सं. १९५० देखि १९९८ सम्म) नेपालको समाजको सशक्त चित्रणको साथै नपेालकी एक अभूतपूर्व समाज सुधार अभियन्ता एवम् वलिदानी योगमायाको जीवनीको बारेमा धेरै पठनीय ढङ्गले लेखिएको पाइयो । पुस्तकले त्यसबखतको नेपाली समाजमा महिलाको जीवन निकै कष्टकर तथा भेदभावले पीडित भएको दर्शाएको छ । सती प्रथा, छोरीलाई शिक्षा नदिने, बहुविवाह, वालविवाह, महिलाले धेरै प्रकारका बन्धनमा बाँच्नुपर्ने वाध्यता, पत्नीले पतिको पुरा खानुपर्ने जस्ता कु-प्रथाहरूको सजीव चित्रण निहारिकाज्यूले गर्नुभएको छ । सती प्रथाको लगभग त्यही कालखण्डमा अन्त्य भएको, बालविवाह हराउँदै गएको, छोरीलाई शिक्षा दिने तर्फ धेरै प्रगति भएको भएपनि महिलाहरूको जीवन अझै पनि समाजमा बराबरीको दर्जामा पुग्न सकेको पाईदैन । एक पुरुषको नाताले आफैंलाई पनि त्यसको दोषि भएझैं लाग्छ । दाइजो प्रथा, छाउ प्रथा, महिनावारीका बारेमा विध्यमान कुसँस्कारहरू, छोरीलाई अंश नदिने कुरा, आमाको नाममा नागरिकताका कुरा आदिमा नेपाली समाजले अझै धेरै फड्को मार्न बाँकी छ ।
त्यसो भएपनि तात्कालीन सामाजिक परिवेशमा सुधार ल्याउन, अन्यायको विरुद्ध लड्न तथा भेदभावमा परेका वर्ग (महिला, तल्लो जाति, गरीब आदि) को हितको लागि लड्न योगमायाले गर्नुभएको नेतृत्वदायी योगदानलाई जनमानसमा छर्लङ्ग पार्न यो पुस्तकले धेरै मद्दत गर्ने विश्वास लिन सकिन्छ ।
त्यसका साथै पुस्तकको भाषा पनि तत्कालिन परिवेशमा लेखिएको छ । विविध उखान टुक्का, रमाइला प्रसङ्ग, निर्दोष प्रकृतिको गाउँले बोली जस्ता विविध अलङ्कारले भरिएको यो पुस्तकले २०७४ सालको मदन पुरस्कार पाउँनु पक्कै पनि सान्दर्भिक, उचित र आवश्यक पनि जस्तो लाग्यो ।
विहिबार ५ भाद्र २०७६ (२२ अगस्ट २०१९)
No comments:
Post a Comment