Thursday, October 17, 2019

यी चाड कस्ता आए होलान् ?

चाडबाड फेरि आ‍ए भन्छन्, खोइ कस्ता  आ‍ए होलान् ?
मेरो देश, मेरो गाउँ, मेरो ठाउँको चाडबाड कस्ता होलान् 

मलाई मेराको र मेरालाई मेरो निरन्तरकै साथ होला 
मेरो बाटो हेर्ने र मैले बाटो हेर्नेको बाटो एउटै होला 
आफ्नो सद्‍भाग्यलाई गर्दै मेरो चाड उल्लासमय होला 
तैपनि मनको कुनामा प्रश्न, सबैको चाड मेरै जस्तो होला ?

जेठा बाकी साहिली छोरी मुग्लानबाट आउन पाउँदिन होली
कान्छी आमैको माहिलो छोराले अरबबाट छुट्टी पाउँदैन होला 
अनगिन्ती जेठाबा र अनेकन साहिली आमै देशभरी होलान् 
आशै आशमा कल्पिन विवश तिनको चाडबाट कस्ता होलान् ।

नानीका नानामा बाटाको धुलोले सेताम्मे भयो होला
बाबुको टल्किने जुत्ता महानगरको हिलोले पोतियो होला
चिचि र पापाको भोक खुर्सानी र चिउराले मेटियो होला
बाबुका सपना र नानीका तिर्सनाको यो चाड कस्तो होला 

कसैका आफन्त बाकसभरी कोसेली लिएर आए होलान्
अरु कतिका आफैँ बाकसमा बन्द भएर पठाइए होलान्
कतिका अङ्गालो भरिँदा कैयनका जीवन टुक्रिए होलान्
कोसेली र बज्रपात मिसिएका यी चाडबाड कस्ता होलान्

कति छोराछोरीले लामो पर्खाइपछि न्यानो काख पाए होलान्
अनगिन्ती अरुले सामाजिक सञ्जालबाटै चित्त बुझाए होलान्
कति साच्चै रमाए कतिले रमाएको झुठो बहाना गरेहोलान्
उडेका चङ्गा र चुडिएका धागा यो चाडमा कति होलान् 

निधामा हत्केलाले छेक्दै कति आँखा बाटामा ओच्छिए होलान्
रातो टीका टल्किने निधारमा बिछोडका रेखा तन्किए होलान्
अर्को वर्षको सान्त्वनामा कतिले यो वर्ष चित्त बुझाएहोलान्
नसकिने पर्खाइ र नओभाउने आँखाका यी चाड कस्ता होलान् 

भेटको झीनो आशलाई सास दिन कतिले चिनो पठाए होलान्
मिलनको कल्पनाको त्यान्द्रो समातेर कति मुटु कल्पिए होलान्
रोएको मनलाई नक्कली हाँसोले ढाकेर जगतलाई झुक्याए होलान्
पेटभरि मनको लड्डु घिउसित खाँदै चाड मान्ने कति होलान्  

सहरका सडक झैं कतिका हृदयमा खाल्टै खाल्टा परे होलान्
बर्खे पहाड झैं सयौं जीवनका जगहरू पहिरोमा बगे होलान्
निराश र हताश सपनाहरु मिलन र प्रेमको राहत खोज्दै होलान्
टुक्रिएका सपनामा दु:स्वप्न थप्न यी चाड किन आए होलान्
 

बिहिवार ३० असोज २०७६ (१७ अक्टोबर २०१९)  

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...