Thursday, October 17, 2019

डा. सन्दुक रुइतको चमत्कारिक जीवनी

डा. सन्दुक रुइत आधुनिक नेपालका सर्वाधिक उज्याला नक्षत्रहरूमध्ये पर्छन् भन्नु अतिशयोक्ति नहोला । ओखलढुङ्गाको दुर्गम गाउँमा जन्मिएर देश तथा विदैशमा अति विशिष्ट नेत्र शल्यचिकित्सकको रूपमा कालजयी छवी बनाउन सक्नु आफैंमा चमत्कारिक छ । हालसालै प्रकाशित डा. रुइतकको जीवनी पढ्दा उनले गरेको सङ्घर्ष र सामाजिक कार्यको वास्तविक स्तर र गहिराइ बारे जानकारी भयो । आफ्नो स्वार्थ, अर्थोपार्जनको लालसा, पारिवारिक सुख सुविधा लगायतका व्यक्तिगत महत्वाकाङ्क्षाको सट्टा जीवनभर गरीव, निमुखा र दुर्गम क्षेत्रका वासिन्दालाई अति सहज, सरल र सुपथ तथा कैयौं पटक नि:शुल्क सेवा प्रदान गरेका डा. रुइतमा उच्च कोटिको सेवा भावना र विनय रहेको पाइन्छ । 

साधारण शल्यक्रियाबाट मोतियाविन्दुको उपचार गरी लाखौं मानिसहरूलाई नेत्रज्योतिको नवजीवन प्रदान गर्ने डा. रुइतले नेपाल लगायत अन्य धेरै देशमा गरेको कामको शुरुमा व्यापक विरोध भएपनि क्रमिक रूपमा प्रशंसा र आदर भएको पाइयो । आफ्नो चरम आलोचना हुँदा होस् वा पुरस्कार र प्रशंसाको ओइरो लाग्दा होस्, डा. रुइतमा आफ्नो काम प्रतिको समर्पण तथा विनयशिलता कहिल्यै कम भएन । घण्टौंसम्म अनवरत रूपमा खाली खुट्टानै बसेर एक पछि अर्को विरामिको शल्यक्रिया गर्ने यी डाक्टरले हिमाल, पहाड, तराइ देखि देश र विदेशमा आफ्नो सरल र सस्तो विधिबाट मोतियाविन्दुको उपचार गरी लाखौं व्यक्तिलाई नेत्रज्योतिको उपचार मात्र गरेनन् देशकै अग्रणी आंखा अस्पताल, कृत्रिम लेन्स कारखाना तथा आँखा बैंकको पनि स्थापना गरे । मरणोपरान्त आँखा दानको कार्यलाई फैलाउन पनि उनले अनवरत काम गरेका छन् । 

अष्ट्रेलियन लेखिका अलि ग्रिपरले लेखेको मूल जीवनी The Barefoot Surgeon लाई नेपालीमा श्री खगेन्द्र सङ्ग्रौलाले अनुवाद गरेको यो जीवनी पढ्दा जीवनमा केही गर्ने र अरुको लागि पनि बाँच्ने प्रेरणा प्राप्त हुन्छ । घाँसीले भानुभक्तलाई कीर्ति राख्ने अर्ति दिए जस्तै डा. रुइतको जीवनीले पनि पाठकलाई केहि न केहि नि:स्वार्थ र समाजोपयोगि काम गरेर आफ्नो जीवन सार्थक पार्ने प्रेरणा दिन्छ । 

पुस्तक विमोचनमको क्रममा उनिसंग प्रत्यक्ष भेट गर्ने र पुस्तकमा हस्ताक्षर गराउने अवसर प्राप्त भयो । अचानक त्यति उँचो व्यक्तित्वको नगिच पुग्दा आफ्नो व्यक्तित्व र कृतित्वको लघुताभास त भयो नै, सो क्रममा डा. रुइतले देखाएको सहृदयता र विनयशिलताले कबिशिरोमणीको यो हरफको पनि स्मरण गरायो:

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । 
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।

डा. रुइत वास्तमवै अलौकिक फल दिने कल्पवृक्ष हुन् । समाजले निरन्तर नेत्रज्योति र जनकल्याण रुपी ती दिव्य फल प्राप्त गरिरहुन । डा. रुइतको वृक्षमा चीरकाल सम्म हरियाली रहिरहोस् । नेत्र ज्योति र नव जीवनको दिव्य फल धराभरिका मानिसहरूले प्राप्त गरिरहुन् ।  

विहिबार ३० असोज २०७६ (१७ अक्टोबर २०१९)

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...