Monday, September 5, 2022

आँखाहरू

 संसार देख्ने आंखाहरु

संसारले देख्ने आंखाहरु

पानीले सजल आंखाहरु

शुष्क र शिथिल आंखाहरु ।


सपना देख्ने र देखाउने 

आफ्ना चिन्ने र चिनाउने 

सुख र दुखका क्षणमा 

नीरले डबडबाउने आंखाहरु ।


टेढिएको भौं मुन्तिर 

विस्फारित परेलिभित्र 

आक्रामक चम्काइसंगै 

क्रोधले रंगिएका आंखाहरु ।


सप्रेम र सरस अनुहारमा 

द्रवित ओठको कम्पनमा 

अतिशय करुणाभावसंगै 

लोलाउने प्रेमी आंखाहरु ।


प्रश्नै प्रश्नको अविरल वर्षा

हृदय छेडुंलाझै तीखो हेराइ

कमजोरीमा प्रहारनिम्ति  

सज्जित शिकारी आंखाहरु ।


धुलोमा लुलो काया थाम्दै 

किञ्चित कंपित हात थाप्दै 

अलिकति दयाको आशमा 

भयभीत भिखारी आंखाहरु ।


यता उता लक्ष्यहीन भौतारिंदै

टार्न भाग्न भगाउन खोज्दै 

आंखामा आखा नमिलाउने

ढीठ कर्मचारी आंखाहरु  ।


दम्भ, रवाफ र क्रोधसाथ 

होच्याउँदै हप्काउँदै थिच्दै 

मै खाउँ मै लाउँको जप गर्दै 

अन्त्य विर्सिने शासक आंखाहरु ।


धमिलिएको क्षितीजतिर 

हत्केलाको छायाले छेकेर 

हरदम सन्ततिको बाटो हेर्ने 

एक्लिएका बुढ्यौली आंखाहरू ।


चर्मचक्षुभन्दा धेरै भित्र 

हृदयको गहिराइमा स्थित 

अनेकन भोगाइले भरिएका 

सदैव खुल्ने अभौतिक आंखाहरू ।


मनको कुरा मौन बोलिदिने 

अव्यक्त भावहरू व्यक्त गर्ने 

व्यक्तित्व देखाउन दर्पणरुप 

वुझेर बुझ्न नसकिने आंखाहरु ।   


 

सोमबार २० भाद्र २०७९ (५ सेप्टेम्बर २०२२)

  

No comments:

Post a Comment

मृत्युचिन्तन - कलाकार स्व. गणेश रसिकको सम्झनामा

आज कान्तिपुर दैनिकमा लोक संस्कृति र संगित क्षेत्रका मुर्धन्य कलाकार गणेश रसिकले इहलोक परित्याग गरेको समाचार र त्यसमा व्यक्त भावुक भनाइहरुले ...